arrow

सुरक्षा सङ्गठनको नीति निर्माण र पुनःसंरचनालाई प्राथमिकता : गृहमन्त्री शर्मा

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
janardan-sarma.png

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताएका छन् ।  

बुधबार गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने – “तपाईंहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका लागि चलखेल गर्ने, सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट दिने छैन ।”

शर्माले सुरक्षा निकायको चेन अफ कमाण्डमा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने जस्ता प्रवत्तिको अन्त्य गरिने प्रष्ट पारे।

गृहमन्त्री शर्माले भने, “जनताले चाहेजस्तो नेपाल प्रहरी हुनेछ । जनताले चाहे जस्तो सशस्त्र प्रहरी बल हुनेछ । देशले चाहेजस्तो अनुसन्धान विभाग हुनेछ । देशको संवेदनशील विषय हेर्ने अनुसन्धान विभागलाई आवश्यक पुनःसंरचना गरिनेछ ।”

मूल्याङ्कनको माध्यम परिवर्तन गरी जनता र सिपाहीबाट गरिएको मूल्याङ्कनलाई सही मूल्याङ्कन मानिने उनले जानकारी दिए । मन्त्रालय र यसअन्तर्गतका निकायको परिवर्तन र सुधारको सम्बन्धमा केही दिनमै योजना सार्वजनिक गरिने दृढता पनि उनले व्यक्त गरे।

मन्त्री शर्माले पहिलो निर्णयको रुपमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षानिकाय र समस्त कर्मचारीलाई निर्देशन दिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ