आयोगको निर्णय, अदृश्य शक्तिको प्रभाव : एमाले नेता पाण्डे
प्रकाशित २०७४ जेठ २२ सोमबार
487
Shares
भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एंवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भरतपुर घटनालाई लिएर कसैको दबाब र प्रभावमा परेर निर्वाचन आयोगले गरेको निर्णय एकदमै कमजोर मानसिकताको उपज भएको बताएका छन् ।
रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले भरतपुरमा मतगणना सुरु नभएसम्म देशले नयाँ सरकार र नयाँ प्रधानमन्त्री पाउन नसक्ने चेतावनी दिंदै भरतपुर घटनामा आयोग विभिन्न शक्ति केन्द्रको प्रभावमा परेको आरोप लगाए । निर्वाचन आयोगको निर्णय प्रभावमा परेर गरिएको भएपनि एमाले अदालतको निर्णयको पखाईमा रहेको उनले बताए ।
एमालेले गरेको संसद अबरुद्ध र नयाँ प्रधानमन्त्रीको चयन प्रक्रियामा कुनै समस्या नभएको बताउँदै पाण्डेले एमालेले प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुनु अघि नै भरतपुरको कुरा उठाएको कारण प्रधानमन्त्री चयनमा एमालेको कुनै अवरोध नभएको बताए ।
एमाले पहिलेदेखि नै राष्ट्रिय सरकारको पक्षमा रहेकोले देशको समग्र हितका लागि राष्ट्रिय सरकारमा एमाले जान आतुर रहेको भन्दै उनले अहिले चयन हुन लागेको बहुमतिय सरकारमा भने एमाले जान नसक्ने बताए ।
मतगणना भैरहेको भरतपुर महानगरपालिकामा निर्वाचन हार्ने निश्चित भएपछि माओवादी केन्द्र निकट वाईसिएलका कार्यकर्ताले मतपत्र च्यातेको उनले दाबी गरे ।
पाण्डेले वर्तमान सरकारले विगतका सरकारले बनाएका औद्योगिक योजनाहरु कार्यान्वयनमा चासो नदेखाएको बताए । केन्द्रीय सदस्य पाण्डेले विगतको सरकारले बनाएका औद्योगिक विकासका योजनालाई देशको आर्थिक समृद्धिका लागि सरकारले तत्काल उद्योग स्थापना लगायतका काम अघि बढाउनुपर्नेमा जोड दिए ।