विश्व वातावरण दिवस नेपालमा पनि, केवल एक दिने गतिविधि
प्रकाशित २०७४ जेठ २२ सोमबार
546
Shares
काठमाडौँ । विश्व वातावरणका अवसरमा सारा विश्वले आफ्नो आफ्नो शैलीले विभिन्न कार्यक्रम गरिरहेका छन् । ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइएको छ ।
यो दिन “प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त” भन्ने नाराका साथ नेपालमा पनि विश्व वातावरण दिवस मनाउन लागिएको छ ।
सरकारले वातावरण जोगाउन उल्लेखनीय कदम चाल्न नसके पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व वातावरण दिवसका अवसरमा शुभकामना भने व्यक्त गरेका छन् ।
विश्व वातावरण दिवस, २०७४ को अवसरमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई विशेष अनुरोध गर्दै दिवसले सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले पृथ्वी र प्रकृति सबैको साझा भएको, मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग भएको हुँदा यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी भएको सन्देशमार्फत व्यक्त गरेका छन् ।
स्वस्थ एवम् स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो सन्देशमा भनिएको छ–“हाम्रो अमूल्य प्राकृतिक स्रोतको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान्नसक्ने क्षमता कायम राख्दै यिनीहरूलाई पुस्तागत हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो, नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ ।”
नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले जनसङ्ख्याको बढ्दो चाप, विकास निर्माणप्रतिको प्राथमिकता र बदलिँदो मानव व्यवहारले गर्दा वन, जैविक विविधता र प्रकृतिको विनाश, भू–क्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याले प्रकृतिको स्वभाविक चक्रलाई अवरुद्ध गरेको सन्देशमा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति एवम् प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिबद्ध एवम् एकताबद्ध हुनु आवश्यक छ भने ।
वातावरणका क्षेत्रमा थुप्रै एनजीओ र आइएनजीओ लागेका छन् । तर उनीहरु वातावरणीय भन्दा पनि डलर कमाउनतिर लागेको सर्वसाधारणको गुनासो छ ।