देउवा प्रधानमन्त्री बन्ने तिथि आइपुगेन, संसद सर्यो
मंगलबार मात्रै संसद चल्ने
प्रकाशित २०७४ जेठ २१ आइतबार
649
Shares
काठमाडौं । संसद बैठक सरेसँगै नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया लम्बिएको छ । आइतबार सभामुख ओनसरी घर्तीमगरले संसदको अवरोध हटाउन भन्दै बोलाएको शीर्ष नेताको बैठकमा संसद मंगलबार दिउँसाे मात्रै बस्ने सहमति भएको छ ।
शीर्ष नेताहरुले सोमबार दिउसभर सहमति खोज्ने र मंगलबार संसद बोलाउन सहमति जनाएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । नयाँ प्रधानमन्त्री चयन गर्ने बैठक मंगलबार दिउँसाे १ बजेपछि बस्ने बताइएको छ । यसअघि अाइतबार विहान ११ बजे बोलाईएको बैठक सुचना टाँसेर दिउँसाे ३ बजेसम्मका लागि सारिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि गरेको आह्वानपछि संसद नचलेको अवस्थामा सभामुखले सूचनामार्फत प्रधानमन्त्री निर्वाचनको कार्यतालिका बनाएको भन्दै एमालेले संसदको अवरोध जारी राखेको छ । यस्तै, एमालेले भरतपुर महानगरको १९ नम्बर वडामा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई समेत संसद अवरोधको मसला बनाएको छ । एमालेले भरतपुरमा पुनःमतदान गर्ने भनि गरेको निर्णय खारेजीको माग गरेको छ ।
नयाँ प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेकामा एमाले संसद खोल्न तयार नभएपछि प्रक्रिया नै लम्बिएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बाटोमा एमाले तगारो बनेको छ । संसद सचिवालयले आइतबार प्रधानमन्त्री चयन गर्न मतदानको कार्यतालिका तय गरेको थियो । पूर्वसहमति कार्यान्वयन गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया थालिएको हो ।