arrow

झापाका किसान भन्छन्, ‘हामी उम्मेदवार होइन, विकास हेर्छौं’

logo
झुलन रेग्मी,
प्रकाशित २०७४ जेठ २१ आइतबार
Jhapa_District.png

बिर्तामोड (झापा)।  झापाका सहर तथा ग्रामीण बस्तीमा यतिखेर स्थानीय तहको चुनावी रौनकता छाएको छ। प्रत्येक घर तथा टोलमा राजनीतिक दलका झन्डा फहराइएको देखिँदा जनता मतदान गर्ने दिनको व्यग्र प्रतीक्षामा रहेको प्रस्ट हुन्छ तर झापाको मेचीनगरमा एउटा यस्तो बस्ती छ, जुन बस्तीमा अहिलेसम्म चुनावी रौनकता छाएको छैन।

लोपोन्मुख समुदायको बसोबास रहेको मेचीनगर–९ स्थित किसान बस्तीमा चुनावी गतिविधि शून्य छ। निर्वाचनका ‘भोट बैङ्क’ मानिएको यो समुदायको बस्तीमा कुनै पनि राजनीतिक दलका उम्मेदवार भोट माग्न गएका छैनन्। प्रायः यो समुदायमा सोझासिधा व्यक्ति छन्। उनीहरुको सोझोपनलाई राजनीतिक दलले फाइदा उठाउँदै आएका छन्।

अहिलेसम्म चुनावमा भोट माग्न कुनै पनि दलका उम्मेदवार नआएको तर चुनाव हुन्छ भन्नेसम्म थाहा पाएका किसान समुदायका अगुवा राजकुमार किसानले बताए। हामीले यसअघि भएका चुनावमा भाग लिएका थियौँ तर हाम्रा समस्या कसैले सुनेन्। अबभने यसपालाको स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने तर व्यक्ति हेरेर भोट दिने उनको भनाइ छ। “जसले हामीलाई राम्रो गर्छ, उसैलाई भोट दिन्छौँ,” राजकुमारले भने।

झापामा मात्र बसोबास रहेको किसान समुदायको जनसङ्ख्या एक हजार ५०० को हाराहारीमा छ। मेचीनगर, शान्तिनगर, बाहुनडाँगी, धाइजन र बुट्टाबारीमा किसान समुदायको बस्ती छ। अधिकांश ती बस्तीमा खानेपानी, बिजुलीको समस्या छ। भोट माग्न जाने उम्मेदवारसँग उनीहरुले यस्तै समस्या तेस्र्याउने गरेका छन्। चुनावका मुखमा दलले आश्वासन मात्र दिने गरेकाले उनीहरु फेरि पनि धोका पाउने हो कि भन्नेमा सशङ्कित छन्।

“हामीलाई बिजुली–पानी दिन्छौँ भनेका थिए”, विगतको चुनाव सम्ँझिदै मेचीनगर–९ की पार्वती किसानले भने, “तपार्इंहरुको दुःख हेर्छौं भने तर खोई त ?” किसान समुदायका अगुवा जोगी किसानले सुकुम्वासीका समस्या जसले उठाउँछ उसैलाई भोट दिने बताए। 

“हामी नेताहरु हेर्दैनौँ”, उनी भन्छन्, “विकास हेर्छौं।” यसअघिका चुनावमा राजनीतिक दलले किसान बस्तीमा बाक्लै कार्यक्रम गर्थे। भोजभतेर खुवाएर आफ्नो पक्षमा भोट खसाल्न लगाउँथे। तर अहिले चुनाव आकर्षित गतिविधि भएका छैनन्। त्यही भएर होला किसान बस्ती सुनसान छ। “मजदुरी नगरी खान पुग्दैन”, जोगीले विवशता पोख्दै भने, “हाम्रो भाँडामा कसैले चामल हाल्दिँदैन, काम छाड्नु भएन।”

स्थानीय तहको निर्वाचनले अधिकार सम्पन्न बनाउने सुनेका उनीहरु भोट हाल्न मतदान केन्द्र चाहिँ जाने बताउँछन्। समुदायका अगुवा आफ्नो मताधिकार प्रयोग गर्नका लागि छलफल गरेर अघि बढ्ने योजनासमेत बनाउने तयारी छन्। किसान बस्तीमा राजनीतिक दल मात्र होइन, मतदाता शिक्षा कार्यक्रम पनि अहिलेसम्म नपुगेकाले भोट कसरी दिने भन्ने अन्योलमा छन् उनीहरु। “भोट हाल्न सिकाउने मान्छे आउँदैछन् भन्ने सुनेको हो तर खोई अहिलेसम्म आएका छैनन्,” पार्वती किसानले भनिन्। मतदाता शिक्षा कार्यक्रम कस्तो हुन्छ भन्नेसम्म आफूहरुलाई थाहा नभएको उनी बताउछिन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ