नगरकार्यपालिकाको निर्वाचनमा एमालेको दादागिरी, नगरप्रमुखले नै दिएनन् अरुलार्इ भोटहाल्न
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ २० शनिबार
736
Shares
स्याङ्जा । गल्याङ् नगरपालिकामा कार्यपालिकाको निर्वाचनमा विवाद देखिएको छ । गल्याङ नगरपालिकाका नव निर्वाचित प्रमुख भुपराज अधिकारी सहित नेकपा एमाले एकलौटी मतदान गरेपछि काँग्रेस र माओवादीले विरोध जनाएपछि निर्वाचन कार्य प्रभावित भएको थियो । नगर कार्यपालिकाको लागि वडा अध्यक्ष सहित निर्वाचित सदस्यहरुले ८ जना प्रतिनिधि निर्वाचित गर्ने प्रावधान अनुसार प्रमुख अधिकारी र एमालेले एकलौटी रुपले मतदान गरेकाले विवाद भएको बताइएको छ ।
११ वडा रहेको गल्याङ नगरपालिकामा ३१ सदस्य एमाले, २२ नेपाली काँग्रेस र ४ माओवादीका जनप्रतिधि निर्वाचित भएका थिए । नगर प्रमुख अधिकारीले आफ्ना प्रतिनिधिको आफैले मतदान गरेपछि काँग्रेस र माओवादीले विरोध जनाउदै पुन मतदान हुनुपर्ने माग राखेको छ । एमालेकै जनप्रतिनिधिहरुले पनि आन्तरिक रुपमा नगर प्रमुखले हामीलाई भोट हाल्न नदिएको बताएका छन् । किन यस्तो भयो भन्ने प्रश्नमा एमाले नेताहरु भोट विर्गान सक्ने आशंकाले नगर प्रमुख आफैले मतदान गरेको बताउने गरेका छन् ।
प्रतिनिधिलाई मतदान प्रक्रियामा सहभागी हुन नदिएर आफै मतदान गर्नु कत्तिको न्यायपूर्ण हो ? काँग्रेसका महासमिति सदस्य श्यामप्रसाद बस्यालले भने । हामीले पुन मतदानको माग गरेका छौं महासमिति सदस्य बस्यालले भने, “जनताबाट भर्खरै निर्वाचित भएको नगर प्रमुखले नै यस्तो हर्कत राख्छन् भने भोलिका दिनमा नगरको विकासमा के आशा गर्ने ।” तत्काल मतगणना स्थगित गरी पुन मतदान गर्न निर्वाचन कार्यालय गल्याङ्, जिल्ला निर्वाचन कार्यालय स्याङ्जामा निवेदन दर्ता गराएको बस्यालले बताए । मतदान जता भएपनि विधि र प्रक्रियालाई मिच्ने अधिकार कसैसँग नभएको काँग्रेस र माओवादीको भनाई छ ।
यता गल्याङ नगरपालिकाका निर्वाचन अधिकृत ज्ञानराज कोइरालाले निवेदन दर्ता भएकाले यसको छानविन भइरहेको बताए । मतदान प्रक्रियामा धाधली भएको हो र ? भन्ने प्रश्नमा सबै विषय अहिले बताउन नमिल्ने कोइरालाले बताए । यस विषयमा जिल्ला निर्वाचन कार्यालयले कस्तो निर्णय लिने छ त्यो भने हेर्न बाँकी छ ।