मोदीले नेपाल समक्ष माफी नमागे परिणाम गम्भीर हुने विप्लवको चेतावनी
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
597
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले जेष्ठ १८ गते मध्य राती भारतीय प्रहरीका डिएसपी नागराज सहित ५ जनाको जत्थाले डोटी जिल्ला, दिपायल सिलगडी नगरपालिका– ८ लडागडाका लाल बहादुर आउजीलाई अपहरण गरेका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तीमा यस विषयमा नेकपाको गम्भीर ध्यानाकर्षण भएको जनाईएको हो ।
विज्ञप्तीमा भारतीय प्रहरी टोलीको यो हरकत नेपालको राष्ट्रिय स्वाधिनता माथिको नाङ्गो हस्तक्षेप, अन्तर्राष्ट्रिय कानुनको घोर उलंघन, भारतीय साम्राज्यवादको हेपाहा प्रवृति र नेपाली समाज एवं जनताको सामाजिक सुरक्षाको हकका खिलापमा गंभिर अपराध भएको भन्दै भारतीय प्रहरी जत्थालाई अन्तर्राष्ट्रिय कानुन मुताविक कारवाही गर्न र मोदी सरकारले नेपाली जनता समक्ष आगामी दिनमा यस्ता गम्भिर अपराधिक प्रकृतिका घटना नघटाउने बाचासहित माफी माग्न आफ्नो पार्टीले माग गरेको जनाईएको छ । विज्ञप्ती मार्फत् यदी सरकारको तर्फबाट मोदी आफैंले माफी नमागे यसको परिणाम गम्भीर हुने चेतावनी समेत दिईएको छ ।
आफ्नो देश भित्र भारतीय प्रहरीले विना कुनै सूचना, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै मध्य रातमा आफ्ना नागरिकको अपहरण गर्दा समेत चुईक्कसम्म नबोल्ने प्रचण्ड सरकार र गृह प्रशासनको आत्मसमर्पण, लाचारिपना र आफ्ना जनता प्रतिको जवाफदेही विहिनता प्रति पनि पार्टीले विरोध गरेको छ ।
विज्ञप्तीमा भनिएको छ स्थानीय चुनावमा आफ्नो पार्टीका नेता, कार्यकर्ता र समर्थक जनताले खारेजीको आफ्नो राजनैतिक स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा सयौंको संख्यामा गिरप्तार गर्ने, झुट्टा मुद्दामा फसाएर जेल चलान गर्ने र हिरासतमा राख्ने तर भारतीय प्रहरीको अपहरणकारी जत्थालाई भारतमै स–सम्मान बुझाई दिने प्रचण्ड सरकार भारतीय साम्राज्यवादको दलाल, राष्ट्रघाती र जनविरोधी सरकार भएको कुराको यो भन्दा ठूलो प्रमाण अरु के हुन सक्छ र ? तसर्थ भारतीय प्रहरी हस्तक्षेप र प्रचण्ड सरकारको लाचारीपनाका विरुद्ध तुरुन्तै संघर्षमा उत्रन सेती–महाकाली लगायत आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।