arrow

आफ्नैले थर्काए देउवालाई, पार्टीको भविष्य नसिध्याउनुस्

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
sher-bahadur-deuba.jpeg

काठमाडौं । नयाँ सरकारको नेतृत्व दौडमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको भविष्य जोखिममा नपार्न सुझाव आउन थालेका छन् ।

शुक्रबार मात्रै वीपी विचार राष्ट्रिय समाजका प्रतिनिधिहरुले देउवालाई पार्टीको भविष्यलाई ध्यान दिन सुझाए । समाजका सभापति कुलबहादुर गुरूङ्को नेतृत्वमा भेट्न पुगेको प्रतिनिधि मण्डलले सभापति देउवालाई पार्टी संगठन र राष्ट्रिय राजनीतिका विविध पक्षमा कडाईका साथ सुझाव दिएको हो ।

प्रचण्डको नेतृत्वमा नेपाली काँग्रेस संलग्न रहेको वर्तमान सरकारले गरेको विभिन्न निर्णयका कारण पार्टीको लोकप्रियता खस्किएको र पहिलो चरणको निर्वाचनमा पार्टीले पार्टी प्रतिबद्ध एवम् लोकप्रिय व्यक्तिलाई टिकट नदिएको कारणबाट पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले आशातित सफलता प्राप्त गर्न नसकेकोतर्फ उनीहरुले पार्टी सभापति देउवाको ध्यानाकर्षण गराउँदै गराए ।

उनीहरुले भने, ‘स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन, आउँदो प्रदेश र संसदको निर्वाचनमा उम्मेदवार तय गर्दा पहिलो चरणको निर्वाचनमा भएको कमजोरीलाई हेरेर निश्चित विधि र प्रक्रिया अनुरुप लोकप्रिय उम्मेदवार तय गरिनु पर्दछ ।’ पछिल्लो कालमा राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाको कारण जनतामा पर्न गएको निरासालाई चिर्दै, पार्टी सरकारको नेतृत्व समेत गर्न गइरहेको सन्दर्भलाई ध्यानमा राख्दै पार्टीले स्पष्ट र लोकप्रिय राजनीतिक अडानकासाथ प्रस्तुत हुनु पर्ने र पार्टीलाई थप वैचारिक स्पष्टता र नविन कार्यक्रमकासाथ परिचालित गर्नु पर्ने लगायतका विषयहरूमा प्रतिनिधि मण्डलले सुझाव दिएको छ ।

प्रतिनिधि मण्डलका एक सदस्यले भने, ‘देउवाकै कारण पार्टी ध्वस्त हुन लाग्यो भन्ने सन्देश बाहिर गयो । यो राम्रो होइन । यसमा नेतृत्वले गम्भीर भएर सोच्नु पर्दछ ।’ गलत बाटो हिड्नु हुँदैन ।

प्रतिनिधि मण्डलको सुझावको प्रत्युत्तरमा पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणको निर्वाचनमा देखिएका कमि–कमजोरीलाई समेत हटाई पार्टीलाई थप गतिशील बनाउने र नेपाली काँग्रेसको नेतृत्वमा अब वन्ने सरकारले विगतका कमजोरीलाई  सच्याउँदै अगाडी बढ्ने बचन दिए । 

छलफलमा समाजका सहअध्यक्ष गोविन्दराज जोशी, महासचिव विनयध्वज चन्द, सहसचिव रामबहादुर गुरुङ्, संस्थापक सदस्य द्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकाल सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ