मतदाता शिक्षा कार्यक्रम फितलो, मतदाता नमुना मतदानमै अलमलिए
प्रकाशित २०७४ जेठ १८ बिहिबार
384
Shares
खोटाङ । स्थानीय तहको दोस्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ ।
गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो ।
जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ ।
४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
नमुना मतदानमा सहभागी ज्येष्ठ नागरिक मतपत्र लामो भएका कारण मतहाल्ने क्रममा अलमलमा परेका थिए ।
अलमलमा परेका सहभागीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, पर्यवेक्षक लगायतसँग जानकारी लिएपछि मात्र नमुना मतदानमा सहभागी भएका थिए ।
कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको पाइएको छ ।
गोप्य कोठामा गएर स्वस्तिक चिह्न मसीमा चोब्न नजानेर मत हालेको ठाउँमा स्वस्तिक चिह्न नदेखिँदा दोहोर्याएर छाप हाल्ने गरेको देखिएको छ ।
कतिपय मतदाता मतपत्र पट्याएर मतपेटिकामा खसाउने क्रममा समेत अलमलमा परेका थिए ।
नमुना मतदानमा देखिएको अलमलले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ ।
जिल्लामा गत वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख १२ गतेदेखि स्थगित गरेर पुनः जेठ ५ गतेदेखि सञ्चालन गरिएको छ ।
१७३ मतदान केन्द्र रहेको जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १७५ जना मतदाता शिक्षा स्वयम्सेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस