चुनावको मितिबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीले वातमारे, अब के होला ?
प्रकाशित २०७४ जेठ १६ मंगलबार
173
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी दोस्रो चरणको निर्वाचनको मिति केही दिन पर सार्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहाललाई आयोगका पदाधिकारीले सकारात्मक परामर्श दिएको निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसअघि मन्त्रिपरिषद्ले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणा गरेको असार ९ गते शुक्रबार मुश्लिम समुदायको पवित्र पर्व रमजान परेको हुँदा सो समुदायको मागअनुरुप उनीहरुको भावनालाई सम्बोधन गर्ने र राजनीतिक सहमतिका लागि भइरहेको प्रयासलाई समेत दृष्टिगत गरी सरकारले निर्वाचनको मिति सार्ने निष्कर्षमा पुगेको बुझिएको छ ।
सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सोसम्बन्धी निर्णय वुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने बताइँदै छ ।
निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहको निर्वाचन एकैपटक वैशाख ३१ गते गर्नेगरी तयारीलाई अन्तिम चरणमा पु¥याएका बेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने जनाउँदै दुई चरण निर्वाचन गर्नेगरी दोस्रो चरणको निर्वाचन यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव तथा आयुक्तबीच जेठ ३१ गते तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका सम्बन्धमा परामर्श गर्नुभएको जानकारी दिए ।
छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि उपस्थित रहे । आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली पनि छलफलमा सहभागी भए ।