चुनावको मिति फेरि सर्ने, असार ९ गते मुस्लिम समुदायको रमजानको खास दिन
अबको मिति असार १४ गते
प्रकाशित २०७४ जेठ १६ मंगलबार
198
Shares
काठमाडौं । सरकारले असार ९ गते तय गरेको स्थानीय तह दोस्रो चरणको चुनावी मिति पुःनविचार गर्ने भएको छ । मिति पुनःविचार गर्न वुधबार बिहान मन्त्रिपरिषद बैठकले निर्णय पुनःविचार गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अबको मिति असार १४ गतेलाई तय हुनसक्ने बताइएको छ । ९ गते शुक्रबार मुस्लिमहरुको महान् चाड रमजानको अन्तिम शुक्रबार पर्ने र अर्कोतिर रोजाको २७ औँ दिन पर्ने भएकाले कोही पनि चुनावमा सहभागि हुन नसक्ने भएकाले चुनावको मिति सार्न लागिएको बताइएको छ । निर्णय पुनःविचार गर्ने विषयमा छलफल भएको छ, प्रधानमन्त्रीका एक निजी सचिवले भने, ‘दिन भने मन्त्रिपरिषद् बैठकले नै तोक्ला । पुनःविचार गर्ने कुरा भएको छ ।’
उनले थपे, ‘९ गते निर्णय भएकोबारे निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्तलाई पनि जानकारी रहेनछ । ९ गतेको मितिबारे धेरैलाई औपचारिक जानकारी गराइएको रहेनछ । यस विषयमा पुनःविचार गर्न सकिन्छ भन्ने कुरा आएको छ ।’
प्रमुख विपक्षी दल एमालेले मुस्लिमहरुको रमजानको महत्वपूर्ण दिनमै मिति तय गरेको भन्दै पुनःविचार गर्न दबाब दिइरहेको छ । यस्तै, इस्लामी संघ नेपालले मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चुनावको मिति सार्न अनुरोध गरेको छ ।
संघका अध्यक्ष खुर्सिद आलमले हाम्राकुरासँग भने, ‘हामीले प्रधानमन्त्री ज्यूलाई ९ गतेको मिति सार्न भन्यौँ । जुन दिन हामी मतदानमा जानै सक्दैनौँ ।’ ९ गते रोजाको अन्तिम शुक्रबार हुँदै हो । त्यसको अघिल्लो रात हामी जाग्राम बस्छौँ । जो रोजाको सबै भन्दा महत्वपूर्ण रात मानिन्छ । भोलिपल्ट मतदानमा भाग लिने अवस्था रहँदैन । भोलिपल्ट रोजा विदाइ भन्ने हुन्छ । सबै जुमामा श्रवण गर्न जान्छन्, उनले थपे, ‘त्यो दिन चुनाव भए कोही पनि मतदान गर्न जाँदैनन् । पूर्णरुपमा वहिस्कार गरे जस्तो हुन्छ । मिति सार्नु नै पर्छ । १३ असारमा हाम्रो इद हो । १४ गते भए आपत्ति छैन ।’ सरकारले १४ गते चुनावको मिति तय गर्दा राम्रो हुन्छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३१ गते तोकिएको निर्वाचन मिति असार ९ गते सार्ने निर्णय गरेको थियो ।
‘मंगलबार दिउँसो पनि हज समिति लगायतका मुस्लिम संगठनले १३ गतेभित्र चुनाव नगर्न माग गर्दै प्रधानमन्त्रीलाई भेटेका छन्, सरकारका एक जना मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यूले उहाँहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । निर्णयमा पुःनविचार हुन्छ ।’
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार संसद भवन नयाँ बानेश्वमा डाकेको सर्वदलीय बैठकमा समेत चुनावको मिति सार्नुपर्ने कुरा उठेको थियो । प्रधानमन्त्री दाहालसमेत सहभागि बैठकमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले चुनावको मिति एक दिन अगाडि सार्नुपर्ने प्रस्ताव गरे ।
बैठकमा सहभागि राष्ट्रिय जनता पार्टी नेपालका दोस्रो तहका नेताले पनि चुनावको मिति सार्नु पर्ने सुझाव दिएका थिए । बैठकमा सहभागि राजपा नेताहरुले असार १३ गते रमजान सकिने भएकाले १४ गते चुनाव गर्नुपर्ने सुझाव दिए । निर्वाचन आयोगले समेत असार १३ गते रमाजन सकिने र १५ गते धान दिवस पर्ने भएकाले १४ गते चुनाव गर्न सल्लाह दिएको बताइँदै छ । सोमबार मात्रै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आफुहरुकै परामर्शमा सरकारले मिति सारेको बताएका थिए ।