चाँगुनारायण नगरपालिका एमालेतिर ढल्कियो, वडा ८ मा एमालेको झण्डा
प्रकाशित २०७४ जेठ १६ मंगलबार
1.2k
Shares
भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेकोे समूह नै विजयी भएको छ ।
वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गरे ।
त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजुले एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरी विजयी भए ।
त्यसैगरी, चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका सोम मिश्रले सात हजार ४६४ मत र उपप्रमुख विना बास्तोलाले सात हजार ८३६ मत प्राप्त गरी अग्रता लिएका छन् ।
यता नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले छ हजार ३९७ मत र उपप्रमुखमा सरु बाँनियाले छ हजार ९६५ मतले पछ्याइरहेका छन् ।
यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेका रवीन्द्रप्रताप शाहले चार हजार ९८१ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ३२७ मत ल्याएका छन् ।
नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका न्हुछे फोजूले तीन हजार ४८९ मत र उपप्रमुख रीता काफ्लेले तीन हजार १५ मत प्राप्त गरी प्रतिस्पर्धामा रहेका छन् ।
अन्तिम वडाका रुपमा रहेको ९ नम्बर वडाको मतगणना सोमबार राति ९ बजेदेखि सुरु भएको छ । रासस