भरतपुरको मतगणनाको रोचक कथा : दोष लिन कोही मान्दैनन् !
प्रकाशित २०७४ जेठ १५ सोमबार
473
Shares
काठमाडौं । मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना अनिनिश्चत भएको छ । माओवादी केन्द्रले निर्वाचन अनुरुपको व्यवस्थालाई टेकेले १९ नम्बर वडा पुन मतदान गर्नुको विकल्प नरहेको बताएको छ ।
यद्यपि, एमालेले भने भित्रै रहेका दलीय प्रतिनिधिहरुबीच उत्पन्न भएको विवादले रोकिएको मत गणनालाई रद्द गर्ने र पुनः मतदान गर्ने कुनै कारण नभएको बताएको छ । एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले भने, ‘बाहिरको कुनै शक्ति छिरेर भित्र वितण्डा गरेको होइन ।
भित्रै रहेका एक दुई जनाले मतपत्र च्यातेका हुन् । यो विषयलाई धेरै ठूलो बनाएर पुनः मतदानमा फर्किनु भनेको ढुंङ्गे युगमा फर्किनु हो । गणना भइसकेका २५–३० मतपत्र च्यातिएका हुन् । भित्रैका प्रतिनिधिले गरेका भएर पुनः मतदान गर्नु पर्ने कारण नै छैन ।’ यसो गर्दै जाने हो भने, अबको निर्वाचनमा के होला ?, उनले भने, ‘हार्ने जति सबैले यस्तै गर्छन् होला ।’ निर्वाचन नै सकिँदैन ।
भएको के थियो ?
पोखरेलले भने, ‘२१ नम्बरको मत गणना सकिएपछि हामी ७ सय ८४ प्लसमा थियौँ । १९ नम्बरको गणना पछि माओवादी केन्द्रले आफुहरुको मत ३ सय प्लस आउने आँकलन गरेकामा जम्मा ५१ प्लस आयो । २८ सय ६८ मतमा १८ सय गणना भएको थियो ।’ लगभग ३ सय मतको फरक पर्ने अवस्था आयो । १९ नम्बरमा पनि नाजुक स्थिति देखिएपछि माओवादी प्रतिनिधिले मतपत्र च्याते । मतपत्र च्यात्दा च्यात्दै एसपीले नै पक्राउ गरे ।
मगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातियो । मतपत्र कसले च्यात्यो भन्नेमा एमाले र माओवादीले एक अर्कालाई आरोप प्रत्यारोवप गरिरहेका छन् ।
चितवनका प्रहरी प्रमुखले माओवादी कार्यकर्ता द्रोण शिवाकोटीले मतपत्र च्यातेको बताएका छन् ।
नेकपा एमालेले च्यातिएका मतपत्रहरुलाई एकातिर राखेर पुनः मतगणना सुरु गर्नुपर्ने माग राखेको छ । तालमेल गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रले वडा नम्बर १९ मा पुनः मतदान गर्नु पर्ने माग अघि सारेका छन् ।
पुन मतदानको विकल्प छैन : दाहाल
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख प्रशासनिक सल्लाहकार नारायण दाहाल चुनाव देखि चितवनमै छन् । मतगणनास्थलमा रहेका दाहालले एमालेले सुजियोजित रुपमा घटना घटाएकाले पुनः मतदानको विकल्प नरहेको बताएका छन् ।
उनले भने, ‘निर्वाचन ऐनको दफा ४९ र ५० मा यससम्बन्धि व्यवस्था नै छ । त्यसैले सोही अनुरुप पुनः मतदान गर्नुको विकल्प छैन ।’ २५–३० वटा मात्र होइन सयौँ मतपत्र च्यातिएका छन् । कयौँ हराएका छन् ।’ हामीले मत अन्तर ३ सयमा झारिसकेका थियौँ ।
यस्तै, दाहालले एमालेले सुनियोजित ढंगले माओवादीले च्यात्यो भनेर प्रचार गरेर घटना घटाएको बताए । उनले भने, ‘मत पत्र च्यात्ने भए हामी ४ हजार मत अन्तर हुँदा च्यात्थ्यौँ होला । १९ र २० वडाले हामी जित्छौँ भन्नेमा हामी विश्वस्त थियौँ । उनीहरुले सस्तो ढंगले प्रचार गरे । हामीले वक्तव्य निकाल्यौँ ।’ फरक यत्ति हो । पुनः मतदानको विकल्प छैन । भरतपुरको मतगणनाबारे निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन । निर्वाचन आयोगले सह–महान्याधीवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले १७ जेठभित्र प्रतिवेदन दिने छ । प्रतिवेदन नआएसम्म मतगणना रोकिने छ ।
ऐनमा व्यवस्था के छ ?
निर्वाचन ऐनको ४९ मा मतदान पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग भएको मतपत्र, मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिए, खोलिए, नोक्सान वा तोडफोड, हराए वा दुर्घटनावश नोक्सान गरिए निर्वाचन अधिकृतले मतगणना स्थगित गरेर निर्वाचन आयोगलाई प्रतिवेदन दिनु पर्ने छ भनिएको छ ।
यसरी मतगणना स्थगित भएपछि त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध घोषणा गर्ने र पुनः मतदान गर्ने ऐनको व्यवस्था छ ।
ऐनको दफा ५० मा मतगणना स्थल अनाधिकृत रुपमा कब्जा गरिएको खण्डमा के गर्ने भन्ने उल्लेख छ । कसैले बल प्रयोग वा डरधम्की देखानएर मतगणना स्थल कब्जा गरी गणना प्रभावित गरे वा निर्वाचन अधिकृतलाई काम गर्न नदिए, मतपत्र, मतपेटिका लगयतका सामाग्री खोसेमा मतगणना स्थगित गर्नु पर्ने र निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई तुरुन्त प्रतिवेदन बुझाउनुपर्ने उल्लेख छ ।