बिपीको समाजवादलाई काँग्रेसले कार्यान्वयन गर्न सकेन : कोइराला
प्रकाशित २०७४ जेठ १३ शनिबार
441
Shares
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताएका छन् । अर्घाखाँची सम्पर्क सदन काठमाडौँले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तक्र्रिया कार्यक्रममा महामन्त्री कोइरालाले सो समाजवादमा मुलुकमा सबै जनताले न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने चिन्तन रहेको बताए ।
मुलुकमा विद्यमान समस्या समाधानका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउँदै कोइरालाले पार्टीभित्र देखिएका विभिन्न गुटले गर्दा बिपीको समाजवाद ओझेलमा परेको बताए ।
महामन्त्री कोइरालाले चुनावमा मधेसी जनताको भावनालाई समेटेर उनीहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिँदै आन्दोलनरत विभिन्न दलका जायज मागलाई पूरा गर्न सबै दलको समन्वय हुनुपर्ने खाँचो औँल्याए ।
अर्घाखाँची सम्पर्क सदन काठमाडौँका अध्यक्ष एवम् तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति डा माधवराज गौतमले पार्टीभित्रका विवादलाई शीर्ष नेतृत्वले वैज्ञानिक ढङ्गबाट समीक्षा गरी सल्टाउनुपर्ने सुझाव दिँदै गुटबन्दीको अन्त्य गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए ।