चुनावको मुखमा एमालेका केन्द्रीय सदस्य र सांसदले पार्टी छोडे, संघीय समाजवादी फोरममा जाने
प्रकाशित २०७४ जेठ ८ सोमबार
564
Shares
काठमाडौं। स्थानिय तहको दोस्रो चरणको चुनावको मुखैमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्व सभासद एवं पर्सा क्षेत्र नं ४ का अध्यक्ष प्रद्युमन चौहानले पार्टी परित्याग गरेका छन्।
मधेस आन्दोलनबाट उठेका मागहरुलाई एमालेले अपमान गरेको भन्दै एमालेका केन्द्रीय गिरी र पूर्व सभासद चौहानले पार्टी परित्याग गरेका हुन्।
सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरी पार्टीका केन्द्रिय सदस्य प्रह्लाद गिरी र पुर्वसभासद प्रद्युमन चौहानले एमाले पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण पद परित्याग गरेको बताएका हुन्।
मधेस आन्दोलनबाट उठेका मागहरुलाइ संस्थागत गर्नुपर्ने जनचाहना भएपनि मधेस आन्दोलनको भावनालाई एमाले पार्टीले उपेक्षा गरेकोले आफुहरु पार्टीको साधारण सदस्य लगायत सम्पुर्ण पदबाट बाहिरिएको नेताद्धय गिरी र चौहानद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
एमाले परित्याग गरेका नेता गिरी र चौहानले मधेसको मागहरुलाई समर्थन गर्दै आगामी जेष्ठ १४ गते विरगञ्जमा कार्यक्रम गरी संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पहिलो चरणको स्थानीय निर्वाचनअघि सरकारले गरेको सहमति अनुसार तराई मधेसमा स्थानीय निकायको संख्या बृद्धी गरि दोश्रो चरणको चुनाव गराउनु पर्ने अहिलेको राजनैतिक आवश्यकता भएपनि एमालेको मधेस विरोधी अडानको कारण राजनैतिक निकास निस्कन नसकेको उनीहरुको आरोप छ।