प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट : उद्घाटन खेलमा आर्मी र पूर्वाञ्चल
प्रकाशित २०७४ जेठ ८ सोमबार
326
Shares
काठमाडौं । घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेल त्रिभूवन आर्मी क्लब र पूर्वाञ्चलबीच हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) को व्यवस्थापनमा प्रतियोगिता मंगलबारदेखि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल तथा समूह ‘बी’ मा आर्मी, नेपाल प्रहरी क्लब, पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल रहेका छन् । ५० ओभरको स्वरुपमा हुने प्रतियोगिताको फाइनल जेठ २४ गते हुनेछ । ५० ओभरको खेल ३ वर्षपछि हुन लागेको हो ।
विजेताले २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा रोकिने टिमलाई समान ५० हजार नगद प्रदान गरिने छ भने लिग खेल जित्ने प्रत्येक टोली २५ हजार नगदको हक्दार बन्ने छ । ‘म्यान अफ द सिरिज’ लाई १ लाख, उत्कृष्ट बलर र ब्याट्म्यानलाई ५०–५० हजार तथा उदीयमान खेलाडीलाई २५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘म्यान अफ द म्याच’ ले ५ हजार नगद पाउने छन् ।