पोखरा महानगरमा आयोगले फर्जी मत सदर गर्न भन्यो, एमाले बाहेक सबै दलले गरे बहिस्कार
‘निर्वाचन आयोग र एमाले मिलेर संगठित धाँधली’
प्रकाशित २०७४ जेठ ७ आइतबार
205
Shares
काठमाडौं । निर्वाचन आयोगले पोखरा लेखनाथको मतगणना नरोक्न निर्देशन दिएपनि मत गणना अझै सुरु हुन सकेको छैन । शनिबार दिउँसो फर्जी मत भेटिएपछि रोकिएको पोखरा लेखनाथ महानगरको मतगणना अनिश्चित बनेको हो ।
पोखरा लेखनाथका निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले निर्वाचन आयोगले पठाएको पत्रको व्यहोरा सुनाउँदै भने, ‘राजनीतिक दलका प्रतिनिधिहरुको रोहवरमै निर्वाचन सम्पन्न भएको र मत गणना पनि राजनीतिक दलकै प्रतिनिधिहरुको रोहवरमै सुरु भएकाले यसमा विवाद गर्नु पर्ने कारण छैन । त्यो निर्वाचन आयोगले नै पठाएको मतपत्र हो । मतदान अधिकृतको हस्ताक्षर मिलेको भए सदर गरेर मतगणना अघि बढाउन सकिन्छ ।’ निर्वाचन अधिकृतको हस्ताक्षर हुवहु भए नभएको हेर्नु समेत भनिएको कर्णले बताए ।
हस्ताक्षर मिल्छ त ? जवाफमा उनले भने, ‘मिल्न आउँछ । म अझै फेरि पनि राम्ररी भिडाउछु । तर, यही हुन्छ भन्ने यकिन छैन ।’ मूख्य गरी केही दलका प्रतिनिधिहरुले फेरि पनि भेटिए के गर्ने भन्ने सवाल उठाएका छन् । आयोगको पत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भनि विवाद गर्नु भन्दा पनि निर्वाचन अधिकारीको दस्तखत सही छ भने विवाद गर्नुको अर्थ छैन भनेको छ ।
शनिबार दिउँसो १४ सय मतगणना भएको परिणाम सार्वजनिक भइसकेपछि एमालेको सूर्य चिन्हमा साविकको भन्दा ठूलो आकारको स्वस्तिक छाप लगाएको एक छापे मत भेटिएपछि मत गणना रोकिएको हो ।
दिउँसो १७ नम्बर वडाको मात्रै मत गणना रोकिएकामा साँझ विवाद बढ्दै गएपछि गणना भइरहेका सबै वडाको गणना रोकिएको थियो ।
एमाले बाहेकका सबै दलले गरे बहिस्कार
निर्वाचन आयोगले मत गणना सुरु गर्न भनि पत्राचार गरेपनि एमाले बाहेक सबै दलले बहिस्कार गरेका छन् । काँग्रेस, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतले मतगणना नै बहिस्कार गरेका हुन् ।
काँग्रेसबाट मेयरका उम्मेदवार रामजी कुँवरले हाम्राकुरासँग भने, ‘एमाले बाहेर सबैले बहिस्कार गरेका छन् । निर्वाचन आयोगका पदाधिकारी र कर्मचारी समेत मिलेर संगठित धाँधली गरेका छन् । हामी सबैको सामूहिक निष्कर्ष हो यो ।’ फर्जी मत सदर गर्न निर्देशन दिनु संगठित धाँधली हो ।
कुँवरले अगाडि थपे, ‘मतगणनाकाबीच उहाँहरु सरकारमा हामी प्रतिपक्षी जस्तो भएका छौँ । संगठित धाँधली भएको छ । आयोगको निर्देशन खेद जनक छ ।’
मतगणना रोकिदैन, उहाँहरु आइहाल्नु हुन्छ नि'
एमाले जिल्ला अध्यक्ष कृष्ण थापाले मत गणना नरोकिने बताए । उनले भने, ‘आयोगले दिएको स्वस्तिक छाप जो भए पनि हुने र मुख्य गरी निर्वाचन अधिकृतको हस्ताक्षर मिल्नु पर्ने भनेको छ ।’ बहिस्कार गर्नेहरु अहिले बाहिरिए पनि फेरि आइहाल्नु हुन्छ नि, अध्यक्ष थापाले हाम्राकुरासँग भने । मत गणना रोकिदैन ।