arrow

पोखरा महानगरको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
pokhara-lekhnatha-metro.png

काठमाडौं । निर्वाचन आयोगले पोखरा लेखनाथको मतगणना नरोक्न निर्देशन दिँदै पत्राचार गरेको छ ।

शनिबार दिउँसो फर्जी मत भेटिएपछि रोकिएको पोखरा लेखनाथ महानगरको मत गणना अनिश्चित बनेको थियो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘एकाध मतमा स्वस्तिक छाप अस्वभाविक भएको भनेर मत गणना रोक्न नहुने भन्दै आयोगले पत्राचार गरेको छ । त्यहाँ आयोगको निर्णय मान्ने भनेर सर्वदलीय निर्णय भइसकेकाले अब मतगणना रोकिदैन ।’ दिउँसो बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगले नै फर्जी मत सदर गर्ने वा बदर गर्ने भन्ने प्रष्ट्याउनु पर्ने निष्कर्ष निकालेको थियो ।  

सर्वदलीय बैठकले एमालेको सूर्य चिन्हमा अस्वभाविक ढंगले लगाइएको स्वस्तिक छापबारे आयोगले नप्रष्ट्याएको भन्दै विवाद टुंगिन सकेको थिएन । सर्वदलीय बैठकमा काँग्रेससहितका दलहरुले पोखरा लेखनाथको १७ नम्बर वडामा पुनः मतदानको माग गरेका थिए । एमालेले मत गणनालाई निरन्तरता दिनु पर्ने तर्क राख्यो ।

विवाद बढ्दै गएपछि निर्वाचन आयोगको निर्णय मान्ने सहमति भएको हो । सर्वदलीय बैठकबाट पार नलागेपछि एमाले कार्यकर्ताले मत गणनास्थल बाहिर मतगणना जारी गर भन्दै चर्को नारावाजी गरे ।  

उनीहरुले नाराबाजी गर्दै निर्वाचन आयोग होसियार समेत भने । शनिबार दिउँसो १४ सय मतगणना भएको परिणाम सार्वजनिक भइसकेपछि एमालेको सूर्य चिन्हमा साविकको भन्दा ठूलो आकारको स्वस्तिक छाप लगाएको एक छापे मत भेटिएपछि मत गणना रोकिएको हो ।
दिउँसो १७ नम्बर वडाको मात्रै मत गणना रोकिएकामा साँझ विवाद बढ्दै गएपछि गणना भइरहेका सबै वडाको गणना रोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ