काँग्रेसका उम्मेदवार बन्न आकाङ्क्षीलाई यस्तो निर्वाचन शिक्षा
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
612
Shares
धनगढी । यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मतपत्र बदर देखिएको परिप्रेक्ष्यमा मतदातामाझ मतदाता शिक्षाबारे चेतना अभिवृद्धि गराउने र उम्मेदवारको काम, कर्तव्य, अधिकार, निर्वाचन आचारसंहितालगायत विषयमा प्रशिक्षित गराउन उम्मेदवारका आकाङ्क्षीलाई प्रशिक्षण दिन थालिएको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बताए ।
यसै क्रममा यहाँ बिहीबार आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारीले निर्वाचन आचारसंहिता, निर्वाचन कानुन, मतपत्र बदर हुने÷नहुने अवस्थालगायत विषयमा प्रकाश पारे । सहभागीलाई प्रशिक्षक महेश दाहालले प्रशिक्षण दिइरहेका छन् ।
यसैबीच, दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेकपा माओवादी केन्द्रले पार्टीका तर्फवाट स्थानीय तहमा उठाउने उम्मेदवारका टुङ्गो वैशाखमा नै लगाइसकेको छ ।
यस्तै, नेकपा एमालेले कैलालीको धनगढी उपमहानगरबाहेकका स्थानीय तहमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।