फलेवास (पर्वत) । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार बिहीबार साँझ पर्वतका सातवटै स्थानीय तह र ६१ वटै वडाको मतपरिणाम सार्वजनिक भइसकेको हो।
पछिल्लो परिणामअनुसार नेकपा (एमाले)ले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ।
पर्वतमा नेकपा (एमाले) र काँग्रेसबीच नै प्रतिस्पर्धा भएको थियो। कुश्मा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी भए। उनले आठ हजार ५७ मत प्राप्त गरी विजयी भएको हो भने उनाका प्रतिस्पर्धी नेकपा (एमाले)का मेघनाथ सुवेदीले सात हजार २३९ मत प्राप्त गरेका थिए।
कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकाकै सीता काफ्ले लामिछानेले आठ हजार ४१९ मत प्राप्त गरी विजयी भएकिछिन्। उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की मुवादेवी शर्माले सात हजार २३ मत पाएकिछिन्।
फलेवास नगरपालिकामा नेकपा (एमाले)का पदमपाणि शर्माले ६ हजार १०३ मत प्राप्त गर्दै प्रमुखमा विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका गङ्गाधर तिवारीले पाँच हजार ६५५ मत प्राप्त गरेका थिए। उक्त नगरपालिकाको उपप्रमुखमा एमालेकै मञ्जु अधिकारीले पाँच हजार ९५४ मत प्राप्त गर्दै विजयी भएकि छिन् भने उनीकी प्रतिस्पर्धी नेकाकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गरिन्।
दक्षिणको महाशिला गाउँपालिकामा नेकपा (एमाले)का राजु पौडेल दुई हजार ४५३ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी नेकाका उज्जवल गुरुङले दुई हजार १० मत प्राप्त गरेका थियो। उपाध्यक्षमा नेकपा (एमाले)कै हिरादेवी थापा दुई हजार ४८२ मत प्राप्त गर्दै विजयी बइन्। उनीका प्रतिस्पर्धी नेकाकी सृजना मल्ल ठकुरीले एक हजार ९९१ मत प्राप्त गरेका थिए।
त्यसैगरी, बिहादी गाउँपालिकाको प्रमुखमा एमालेका कमल भुषालले दुई हजार ४२० मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका प्रवीण गुरुङले दुई हजार २१७ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकी डम्मरकुमारी गुरुङ विजयी भइन् । उनले दुई हजार ३१५ मत प्राप्त गरे भने नेकाकी विष्णुकुमारी खड्काले दुई हजार २८९ मत पाएकिछिन्।
मोदी गाउँपालिकामा एमालेका प्रेमप्रसाद पौडेलले पाँच हजार ६३४ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी नेकाका विश्वप्रकाश प्रसाईंले तीन हजार ८१९ मत पाएका थिए। उपाध्यक्षमा एमालेकै सेती महतले पाँच हजार ३९९ मत प्राप्त गर्दै विजयी भएकि छिन् भने निकटतम प्रतिद्वन्द्वी नेकाकी मीना केसीले तीन हजार ८३४ मत प्राप्त गरिन्।
उत्तरी पर्वतको जलजला गाउँपालिकाको प्रमुखमा नेकाका यामबहादुर मल्लले तीन हजार ७३३ मत पाउँदै विजयी भए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लालबहादुर अधिकारीले तीन हजार ६८ मत पाए। उपप्रमुखमा काँग्रेसकी सीमा पुनले तीन हजार ६८८ मत प्राप्त गर्दै विजयी हुनुभयो भने एमालेकी अनिता शर्माले तीन हजार ६५७ मत पाइन्।
दक्षिण पर्वतको पैँयू गाउँपालिकाको प्रमुखमा नेकाका खगेन्द्र तिवारी विजयी भए। तिवारीले तीन हजार ४३१ मत पाउँदा एमालेका मित्रलाल बस्यालले दुई हजार ४४५ मत पाए ।
उपाध्यक्षमा पनि नेकाकी जसमति गुरुङले तीन हजार १६८ मत प्राप्त गर्दै विजयी भइन भने एमालेकी गोमताकुमारी शर्माले दुई हजार ४८४ मत पाएकिथिन्।
पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ३७ वटा वडामा एमाले विजयी भएको छ भने २० वडामा काँग्रेस र ४ वडामा माओवादी केन्द्र विजयी भएको छ। पहिलो चरणको मतगणना सम्पन्न भइसकेपछि जिल्ला सभाको तयारीमा लागेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ। रासस