म्याग्दीमा ६ तहमध्ये दुई गाउँपालिका, एक नगरपालिकामा काँग्रेस बिजयी
कार्यकर्ताले मनाए उत्सव
निर्मल खत्री।
प्रकाशित २०७४ जेठ ३ बुधबार
232
Shares
म्याग्दी । म्याग्दीको ६ स्थानिय तहमध्ये ३ तहमा काँग्रेस विजयी भएको छ। काँग्रेसले वेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकामा जीत निकालेको हो।
बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएका छ । निकटतम प्रतिद्धन्धी नेकपा एमालेका प्रमोद श्रेष्ठलाई पराजीत गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट प्रमुखमा उम्मेदवार बनेका हरिकुमार बेनी नगरपालिका प्रमुखमा बिजयी भएका हुन ।
बेनी नगरपालिकामा एमाले र राप्रपाको तालमेलबाट नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ उम्मेदवार बनेका थिए । १० वटा वडा रहेको बेनी नगरपालिकामा १८ हजार ३४५ मतदाता रहेकोमध्ये निर्वाचनमा १३ हजार १२८ जनाले मतदान गरेका थिए ।
निर्वाचनमा काँग्रेसका हरिकुमार श्रेष्ठले ५ हजार ६ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्धन्धी प्रमोद श्रेष्ठले ५ हजार ६ सय ३४ मत प्राप्त गरेका थिए। नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएपछि बेनीमा बिजय उत्सव मनाईएको छ ।
काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट नगरपालिका प्रमुखको उम्मेदवार बनेका श्रेष्ठ मेयरमा बिजयी भएपछि काँग्रेसले बेनीमा खुसियाली मनाएको हो ।
काँग्रेसका नेता तथा कार्यकर्ताहरुको वृहत सहभागितामा बेनीमा विजयी उत्सव निकालेका थिए । नेता कार्यकर्ताहरुले नाचगान सहित निकालेको र्यालिले बेनी बजार परिक्रममा गरेको थियो ।
मेयरमा विजयी श्रेष्ठलाई बेनीबजारबासीले फुल माला र अबिर लगाएर बधाई ज्ञापन समेत गरेका थिए ।
त्यसैगरि नगरपालिकाको उपमेयरमा भने ३४ मत अन्तरले राप्रपाकी सञ्जु वरुवाल बिजयी भइन । उनले ३ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ज्योती लामिछानले ३ हजार ९ सय ६१ मत ल्याएकी थिइन। बिजयी बरुवाल एमाले राप्रपा तालमेलबाट उपमेयरको उम्मेदवार बनेकी हुन्।
बेनपाको १० वटा वडा मध्य ८ वटाको अध्यक्षमा एमाले, एउटामा काँग्रेस र एउटामा स्वतन्त्र उमेद्वार निर्वाचित भएका छन् । जस अन्तर्गत एमालेबाट बेनपा–१ रत्नेचौरमा टेकबहादुर रावल, बेनपा–२ ज्यामरुककोटमा हिराबहादुर थापा, बेनपा–४ सिंगा तातोपानीमा गोविन्द प्रसाद पौडेल ,बेनपा–५ पुलाचौरमा लक्ष्मण बानियाँ, बेनपा–६ मा कृष्णसिंह बानीयाँ, बेनपा–७ मा राजेन्द्रकुमार श्रेष्ठ,–बेनपा –८मा रामकृष्ण बराईल, बेनपा–९ मा बेलबहादुर चोखाल बिजयी भए ।
त्यस्तै बेनपा–३ मा भने स्वतन्त्र प्यानलका पदम पुन वडा अध्यक्षमा बिजयी भए भने वडा १० मा काँग्रेसका रिम रोका वडा अध्यक्षमा बिजयी भए ।
मालिका गाउँपालिका प्रमुखमा काँग्रेसका रोका विजयी
म्याग्दीको मालिका गाउँपालिकामा नेपाली काँग्रेसका श्रीप्रसाद रोका विजयी भएका छन् । सम्पन्न मतगणनामा रोकाले एमालेका बेगप्रसाद गर्बुजालाई ८४ मत अन्तरले पराजित गर्दै रोका गाउँपालिका प्रमुखमा विजयी भएका हुन् ।
विजयी रोकाले २ हजार ७०६ मत ल्याएका थिए भने एमालेका गर्बूजाले २ हजार ६२२ मत प्राप्त गरे । नेपाल तरुण दल म्याग्दीका उपाध्यक्ष र मालिका गाउँपालिकाको अध्यक्ष समेत रहनुभएका रोकाले विजय पछि संक्षिप्त प्रतिक्रिया दिदै गाउँपालिकालाई समृद्ध बनाउन चुनाबी प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता दिएका थिए ।
गाउँपालिकाको उपप्रमुखमा भने एमालेका खरमायाँ विटालुले २ हजार ६९१ मत ल्याएर विजयी भइन । उनका निकटम प्रतिद्धन्द्धी काँग्रेसका विमला रोकाले २ हजार ६६४ मत ल्याइन ।
म्याग्दीको दोश्रो व्यापारिक केन्द्रको रुपमा परिचित दरबाङबजारमा केन्द्र रहेको मालिकामा १० हजार ६४४ मतदाता रहेको मालिका गाउँपालिकामा ७ हजार १३ मत खसेको थियो । ७ वटा वडा रहेको मालिका गाउँपालिकामा एमाले तीन, काँगेस दुई तथा नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्यानलले एकएक वटा वडाको अध्यक्षमा बिजयी भएका छन् ।
मालिका वडा नम्बर १ निस्कोटको अध्यक्षमा काँग्रेसका टंक पुन, वडा २ रुमको अध्यक्षमा एमालेका नरबहादुर पुन, वडा नम्बर ३ डाँडागाउको अध्यक्षमा एमालेका होमबहादुर पुन, वडा ४ ओखरबोटको वडा अध्यक्षमा माओवादी केन्द्रका दिलिप शेरचन, वडा नम्बर ५ देविस्थानको वडा अध्यक्षमा काँग्रेसकी पिपला बुढाथोकी, वडा ६ दरबाङको वडा अध्यक्षमा एमालेका सन्तनाथ जैसी र वडा नम्बर ७ बिमको वडा अध्यक्षमा स्वतन्त्र प्यानलका सुविन जुग्जाली बिजयी भएका छन् ।
अन्नपूर्ण गाउँपालिकामा काँग्रेसका क्या. डमबहादुर पुन विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुख र उप्रमुखमा काँग्रेस विजयी भएको छ । बुधबार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका क्याप्टेन डमबहादुर पुन ३३२० मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका नारायण पुनले ३१२७ मत ल्याए ।
निर्वाचन अधिकृतको कार्यालय पोखरेवगरले दिएको जानकारी अनुसार, गाउँपालिकाको उपप्रमुखमा काँग्रेसकै केशमायाँ तिलिजा मगर ३२४५ मत ल्याएर विजयी भइन । उनले एमालेकै दुर्गादेवी घिमिरेलाई ५९ मतले पराजित गरिन ।
१० हजार ५ सय १९ मतदाता रहेको अन्नपूर्णमा सात हजार १२ मत खसेको थियो ।