ललितपुर । काठमाडौं महानगर जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँग चुनावी तालमेल गरेर उपमयेरमा उम्मेदवारी दियो । यद्यपि, अन्ततः राप्रपा तालमेल पीडित भएको छ ।
राप्रपा ललितपुरका जिल्ला अध्यक्ष रामहरि थापा भन्छन्, ‘तालमेल भएको हो तर, तालमेलका नजिता आएन । मेल मात्रै भयो ताल आएन ।’
पछुतो मान्दै उनले अगाडि थपे, ‘हामीले मेयरमा मत दियौँ । तर, एमालेकोबाट हाम्रो उपमेयरमा मत हालेको रहेन छ भन्ने थाहा भयो । मेयरमा एमाले अघि गएको बेला उपमेयरमा हामी अघि जान सकेनौँ । मत परिणामले नै भन्छ । हामीलाई मत परेन ।’
पाँच वटा वडाको मत गणना हुँदा एक वडामा मात्रै काँग्रेस जित्यो, उनले थपे, ‘चार वटा वडा एमालेले जित्यो । एमालेले मत दिएको भए इमाडोलको २ वडामा हाम्रा साथीहरु आउने आँकलन गरिएको थियो । त्यसो पनि भएन ।’ चार नम्बर वडामा काँग्रेस आउनु पर्ने ठाउँमा काँग्रेस आएन । हामीलाई पनि डिस्टर्ब गरिदियो । निकै तलमाथि भएको देखियो ।
उनले भने, ‘हामीले आफनो कर्तव्य निभायौँ । तर, एमालेबाट पालना भएन । एकातिर साथीभाई रिसाए । अर्कोतिर पार्टीलाई घाटा भो । यो भन्दा त एक्लै लडेको भए पनि ७–८ हजार भोट आउँथ्यो होला ।’
एमालेसँग तालमेल गर्दा रिसाएका साथीहरुलाई मनाउन निकै कसरत गरेका थियौँ, थापाले भनेका छन् । अहिले २ नम्बर निर्वाचन क्षेत्रका ११ वडा थपिएका कारण राम्रै मत आउँथ्यो । पहिले समानुपातिकमै १७–१८ हजार मत आएको थियो ।’ यसको लेखा जोखा त पक्कै हुन्छ । राप्रपा उपमेयरमा काँग्रेस भन्दा पछि परेकाे छ ।
हाम्रो मतको पनि महत्व छ, काँग्रेसले जित्दै आएका ठाउँमा एमाले जितेको छ
अध्यक्ष थापाले आफुहरुको मतको निकै महत्व रहेको बताए । उनले भने, ‘४ र ५ नम्बर वडामा जहिले काँग्रेसले जित्ने हो । अहिले एमाले तिर लहर आयो । यही आधारमा हेर्दा एमाले जित्ने सम्भावना बढी छ । जहाँ हाम्रो मत पनि निर्णायक छ ।’ यद्यपि, एमाले नेताहरुले आफुहरुले तालमेल अनुसार नै काम गरेको बताएका छन् ।
उपमेयरमा एमालेकै चिन्हमा मत वढी
ललितपुर महानगरपालिकाको उपमेयरमा भने उम्मेदवारनै नभएको एमालेले अग्रता लिएको छ। एमालेले १९२३, नेपाली काँग्रेसकी गीता सत्यालले १८१३, राप्रपा बाबुकाजी प्रधानले १२६६ र माओवादीकी हसिना शाक्यले ९९५ प्राप्त गरेका छन्। ललितपुरमा एमालेले राप्रपासँग सहकार्य गरेको थियो।