भरतपुरमा यस्तो छ प्रधानमन्त्री पुत्री रेणुले जित्ने आधार
एमाले भन्छ– काँग्रेसको २५ प्रतिशत मत हामीलाई आएको छ, मेयर हामी नै जित्छौँ
प्रकाशित २०७४ जेठ २ मंगलबार
264
Shares
भरतपुर । चार महानगर मध्ये सार्वजनिक बहस र चासोको विषय बनेको छ चितवनको महानगरको चुनाव । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी चुनावी मैदानमा रहनु चासोको मूल कारण हो ।
अर्को चासोको विषय माओवादी केन्द्रलाई संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसको साथ रहनु पनि हो। ‘नाटकीय ढंगले मनोनयन दर्ताको अन्तिम समयमा तालमेलको टुंगो लगाई केन्द्रबाटै काँग्रेस उम्मेदवार दिनेश कोइरालाको उम्मेद्वारी फिर्ता लिन लगाएकै कारण असन्तुष्ट काँग्रेसीजनको मत बाँडिएको अड्कल समेत धरैले काटेका छन् । तर, यथार्थ अर्कै छ ।
अहिले गठबन्धन गरेका काँग्रेस–माओवादी मात्रै आश्चर्य चकित छैनन् । आफु एक्लै चुनावी मैदानमा रहेको बताइरहेको एमाले पनि चकित छ । रोचक बनेको छ, भरतपुर महानगरको चुनावी भीडन्त । मैदानमा काँग्रेस–माओवादी गठबन्धनबाट प्रधानमन्त्री दाहालकी छोरी रेणु चुनावी मैदानमा छिन् । सबैको ध्यान उनी माथि नै छ । एमालेबाट देवी ज्ञावाली चुनावी मैदानमा छन् । राप्रपाबाट बद्रीनाथ तिमिल्सिना चुनावी मैदानमा छन् ।
चितवनको नारायणगढ मुख्य बजारको मत गणना गर्दा आफु अगाडि रहेपछि एमाले चकित खाएको छ । एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले चुनावी नतिजामा देखिएको एक दृष्टान्त सुनाए । उनले भने, ‘नारायणगढ मुख्य बजारमा हामीले पपुलर मान्छे वडामा उठाएका थियौँ । वडामा राम्राे मत अाएन । तर, वडामा १९ मत आउँदा मेयरमा ५७ मत आइसकेको थियो । त्यो मत कहाँबाट आयो होला ? हामी आश्चर्य चकित भयौँ । यस्तो रेसियो देखियो हेर्नुस् ।’ यही रेसियोलाई हेरेर पोखरेलले काँग्रेसको २५ प्रतिशत मत एमालेलाई आएको बताए ।
यद्यपि, नारायणगढ मुख्य बजार अर्थात् १ नम्बर वडामा वडाअध्यक्ष काँग्रेसनै जित्ने उनले बताए । उनले भने, ‘हामी चुनाव चित्छौँ । हामीलाई काँग्रेसको धेरै मत आएको छ ।’ यद्यपि, उनले जित्छौँ भन्दा त्यति खुलेर भनेनन् । जसरी माओवादी र काँग्रेस नेताहरुले ५ हजार मतले जित्छौँ, ढुक्क हुनुस् भनेर भनेका थिए ।
एमालेको मूख्य पकड रहेका क्षेत्रबारे पनि हामीलाई अध्यक्ष पोखरेलले बताए । उनका अनुसार भरतपुरको २, १०, ११, १२ र २४ वडामा एमालेको पकड छ । यस्तै काँग्रेसको पकड रहेको क्षेत्रबाट पनि एमालेलाई मत आएको उनले अड्कल गरे ।
माओवादी केन्द्रका नेताले एमालेले राप्रपा, नयाँशक्ति र वैद्य माओवादीसँग समेत छलफल गरेको बताएकामा पोखरेलले स्वीकारेनन् । उनले भने, ‘राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ । एमाले एक्लै हो मैदानमा ।’ एक्लै भए पनि एमालेलाई अनपेक्षित मत आएको छ ।
रेणुको जित्ने आधार के ?
माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले मेयरमा काँग्रेसले आफ्नै चुनाव चिन्हमा मत हालेको अहिलेसम्म नभेटिएको बताए । उनका अनुसार धेरै मत बदर भएको छैन । यद्यपि, उनले काँग्रेससँग भएको तालमेल शतप्रतिशत कार्यान्वयन नभएको बताए ।
उनले भने, ‘काँग्रेसको शतप्रतिशत मन नआएपनि हामी पाँच हजार मतले जित्छौँ । माथिबाटै कुरा नमिलेपछि तालमेल शतप्रतिशत कार्यान्वयन हुन सकेन ।’ सुरुवाती मतगणना भएको क्षेत्रमा हामी पहिले देखि कमजोर हो, जहाँ काँग्रेसले गर्दा केही मत आएको छ, उनले थपे, ‘हाम्रो जित्ने आधार वडाहरुको मत गणना बाँकी नै छ । काँग्रेसको आधार क्षेत्रहरुको पनि मतगणना बाँकी नै छ । मूल जित्ने आधार यही हो ।’ एमालेलाई राप्रपा, नयाँशक्ति र वैद्य माओवादीको साथ छ, र पनि हामी जित्छौँ ढुक्क हुनुस् ।
माओवादीको पकड क्षेत्र
माओवादी केन्द्रको पडक क्षेत्रबारे पनि ईन्चार्ज भट्टराईले हाम्राकुरालाई जानकारी दिए । उनका अनुसार माओवादीको १२, १३, १४, १५, १६, १७, १८, २३, २४, २५ र २६ वडा पकड क्षेत्र हुन् । अन्य वडामा समेत माओवादीको सन्तोष जनक मत आउँछ, उनले भने । काँग्रेसको १९ भन्दा माथिका सबै वडामा राम्रो पकड छ ।
धेरै वडामा काँग्रेस आउँछ, मेयर हाम्रो गठबन्धन कै हो : सभापति श्रेष्ठ
काँग्रेस जिल्ला सभापति जित नारायण श्रेष्ठले आफुहरुले नै जित्ने बताए । उनले भने, ‘हाम्रो पकड क्षेत्र आएकै छैन । ३, ४, ५, ६ काँग्रेस मय नै हुन्छ । यस्तै, १९ देखि माथिका वडामा पनि काँग्रेसको पकड छ ।’ उनले भने मेयर हामी नै जित्छौँ । भरतपुरमा २९ वटा वडा छन् । कुल एक लाख ५० हजार २ सय ४७ मतदाता रहेको भरतपुरमा एक लाख २१ हजार चानचुन मत खसेको छ ।
सभापति श्रेष्ठले शतप्रतिशत तालेमल कार्यान्वयन नभएको बारे भने चुनाव चिन्ह दुवै राखिनु हो भने । उनले भने, ‘मतपत्रमा दुवै चिन्ह राखेपछि शतप्रशित मत कार्यान्वयन हुने कुरै भएन ।’ अन्तिम समयमा आएर तालमेल गर्नुले समेत केही मत बाहिरिएको संकेत श्रेष्ठले गरे । यद्यपि, काँग्रेसको ५० प्रतिशत मत मात्रै आएपनि रेणु दाहाल जित्ने समेत अड्कल गरिएको छ । भरतपुरमा भएको संयुक्त चुनावी सभामा प्रधानमन्त्री दाहालले समेत झिनो मत अन्तरले जित्नुको अर्थ नहुने बताएका थिए । प्रारम्भमा काँग्रेसकै मतका कारण रेणुले देवी ज्ञवालीलाई पछ्याइरहेको बताइँदै छ ।