प्रधानमन्त्री प्रचण्ड पारिवारिक ‘दल’ लिएर भोट हाल्न पुगे चितवन
‘आफ्नो घर छैन, होटलमा बस्याछौँ’
प्रकाशित २०७४ वैशाख ३० शनिबार
234
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचनमा मतदान गर्न चितवन पुगेका छन् । स्कीय सचिवालयका केही सहयोगि र सुरक्षाकर्मीसहित पारिवारिक टोली लिएर भरतपुर पुगेको सँगै रहेका प्रेस सल्लाहकार गोविन्द आचार्यले हाम्राकुरालाई जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मत खसाल्ने छन् । निर्वाचन आचारसंहिताका कारण दाहालले कुनै भेटघाट गर्ने कार्यक्रम नरहेको र एकै पल्ट आइतबार विहान ७ बजे मतदान गर्न जाने प्रेस सल्लाहकार आचार्यले बताए । उनले भने, ‘मौन अवधि भएकाले भेटघाट गर्नु हुने छैन । आराम गरिरहनु भएको छ । एकै पटक आइतबार विहान मतदान गर्न जानु हुने छ ।’
कहाँ बस्नु भएको छ भन्ने जिज्ञासाको जवाफ दिदै आचार्यले भने, ‘के गर्नु प्रधानमन्त्री ज्यू को आफ्नो घर छैन । होटलमा बस्नु भा छ ।’ चितवनको भरतपुर महानगरको मेयरमा प्रधानमन्त्री दाहालकै छोरी रेणु दाहाल उठेकी छन् । माओवादी केन्द्रले प्रमुख सत्ताधारी काँग्रेससँग चुनावी तालमेल गरेको छ । विहिबार मात्रै काँग्रेस–माओवादीले संयुक्त रुपमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काँग्रेससँग तालमेल गरेकाले भरतपुर महानगरमा थोरै मतले जित्ने छुट छैन, अत्यधिक मतले जित्नुपर्छ भनेका थिए ।
प्रधानमन्त्री दाहालको साथमा पत्नी सीता दाहाल, स्वकीय सचिवालयका सहयागिहरु र सुरक्षाकर्मीहरु छन् । प्रेस सल्लाहकार आचार्यले प्रधानमन्त्रीको साथमा पारिवारिक दल मात्रै रहेकाे बताए ।