arrow

मतदानका लागि जनताका नाममा प्रधानमन्त्रीको आह्वान

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
Pm-dahal-nude-bhinttuna.jpeg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार अपिल जारी गर्दै नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रुपमा देख्न र अनुभव गर्नसक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ गते हुन गइरहेको बताए ।

प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा १३ हजार पाँच सय ५६ जनप्रतिनिधि छनोट गर्ने कार्यको अन्तिम अवस्थामा रहेको तथा पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ, ‘लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।”

धेरैले लगभग २० वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन लागेको भन्ने गरे पनि यस्तो प्रकारको चुनाव नेपालमा पहिलो चोटि हुन लागेको प्रधानमन्त्रीको भनाइ छ । अपिलमा भनिएको छ, ‘एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा रहेको छ भने अर्कोतिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्य सत्ताको अन्त्य गरी सङ्घात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोसेढुङ्गाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घरआँगनसम्म पुर्‍याउनका लागि ढोका खुला हुनेछ ।’

चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई महिला चुनिने व्यवस्था तथा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमध्ये एक महिला उठाउनैपर्ने व्यवस्थाबाट गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनी अनिवार्य रुपमा चुनिएर आउने अपिलमा उल्लेख छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नातर्फबाट सबै उपाय अपनाएको तथा सरकारले पनि आफ्नातर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको प्रधानमन्त्रीले स्पष्ट पारे । शान्ति सुरक्षाको दृष्टिले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

सबै मतदाता दिदीबहिनी तथा दाजुभाइलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र सङ्कोचबिना निर्धक्क भई आफूले चाहेका उम्मेदवारलाई मत खसाल्न प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ । निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा राजनीतिक दल, सञ्चारकर्मीलगायत सम्पूर्णमा आआफ्नो क्षेत्रबाट सहयोगका लागि प्रधानमन्त्रीले अपिल गरे ।

अपिलमा भनिएको छ, ‘आइतबार केवल मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो ।” संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरणमा आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय गरिएकाले ती प्रदेशका जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि प्रधानमन्त्री प्रचण्डले विशेष अपिल गरेका छन् ।

प्रधानमन्त्री दाहालले सरकार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको दोह¥याउँदै नेपाली जनताको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रतिे आभार व्यक्त गर्दै आगामी दिनमा पनि सधैँ झैँ सहयोग र सद्भावको अपेक्षा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ