रत्ननगर (चितवन)। फिल्म निर्माता तथा पत्रकार रवि अधिकारीले भरतपुर महानगर वडा नं ५ तोरीखेतमा रहेको मतदान केन्द्रबाट आज अस्थायी मतदाता परिचयपत्र लिए। उनले नागरिकताका आधारमा आफूसँगै बुबा बृखबहादुर, आमा लीलावती, दिदी सम्झना र भिनाजु जङ्गबहादुर कुँवरको परिचयपत्र झिके।
अधिकारी भन्छन् – “स्थानीय निकायको निर्वाचन दुई दशकपछि हुन लागेकाले आफ्नो गाउँको विकास गर्ने नेता छान्नका लागि भोट हाल्न व्यग्र चाहना छ।” भोट हाल्न आतुर रहेको बताउँदै अधिकारीले अरुलाई पनि आफ्नो मतदान गर्ने अधिकार प्रयोग गर्न आग्रह गरे। अब जितेर आउने जनप्रतिनिधिले गाउँठाउँको विकास गर्लान् भन्ने उहाँलाई ठूलो आशा छ।
भरतपुरकै लक्ष्मी विकले पनि आजै मतदाता परिचयपत्र लिइन्। उनले श्रीमान् र छोराको समेत मतदाता परिचयपत्र आफैले लिइन्। “मतदान त गर्नै पर्यो नि, त्यही भएर गर्मी नभनीकन परिचयपत्र लिन आएको हो,” उनले भनिन्।
दुई हजार ८९१ मतदाता रहेको तोरीखेतको मतदानस्थलमा तीनवटा मतदान केन्द्र रहेका छन्। चर्को घाममा मतदाताले लामो लाइनमा लागेर मतदाता परिचयपत्र लिए। तेरीखेतको बुथमा दुई हजार ८९१ मतदातामध्ये आजसम्म ५० प्रतिशत भन्दा बढीले परिचयपत्र लिइसकेका ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत कृष्ण रायमाझीले जानकारी दिए।
‘क’ मतदान केन्द्रका मतदान अधिकृत दीपककुमार दास नाता खुलेको कुनै पनि प्रमाणका आधारमा परिवारका सदस्यले परिचयपत्र लिन सक्ने बताउछन्। कुनै प्रमाण फेला नपरेमा सर्वदलीय निर्णय गरेर प्रमाणित गरेपछि परिचयपत्र दिने गरेको उनले बताए।
कुनै समस्या परेमा दलहरुका स्थानीय प्रतिनिधिसँग परामर्श गरेर निर्णय गर्ने जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउछन्। उनले आज नारायणी, बालकुमारी, मङ्गलपुरलगायत क्षेत्रका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका थिए।
जिल्लामा तीन लाख १३ हजार दुई मतदाता रहेका छन्। “आजसम्ममा ५० प्रतिशत भन्दा बढीले मतदाता परिचयपत्र लिइसकेका छन्,” ढकालले भने। चितवनमा एक महानगरपलिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सातवटा स्थानीय निकाय रहेको छ। यहाँ ५०४ जना जनप्रतिनिधिका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ। रासस