arrow

मौन अवधिमा आचारसंहिताको अनुगमन गर्न निर्वाचन आयोगको गोप्य टोली !

सचिव भन्छन् 'कसरी उल्ल‌ंघन भएको छ थाहा भर्इसक्यो अब छाडिन्न'

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
Gopi_Mainal-secretary.jpeg

काठमाडौं । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले निर्वाचन मौन अवधिमा भएका निर्वाचन आचारसंहिता हननको विषयलाई सुक्ष्म रुपले नियाली रहेको बताएका छन् । राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै सचिव मैनालीले यस्तो बताएका हुन् । 

 

उनका अनुसार स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न प्रतिबन्ध लगाईएको छ । त्यस्तै उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न समेत प्रतिबन्ध लगाईएको छ । यसको लागि आयोगले प्रेस काउन्सिल नेपालसँग सहकार्य गरेको र आचारसंहिता उल्लंघन भएको पाईए त्यस्ता संस्थाहरुमाथि समेत ध्यानाकार्षण गराउने जानकारी दिए ।

 

मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको पाईएको बताउँदै सचिव मैनालीले ती घटनाहरुको छानबिन गरेर आयोगले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी पनि दिए । उनका अनुसार सामाजिक सञ्जाल फेसबुकमा निर्वाचन आचार संहिता उल्लंघन भएको पाइएकोे छ । निर्वाचन आयोगमा फेसबुकबाट चुनावी प्रचार गर्ने काम नरोकिएको तथा मोबाइलमा एसएमएस पठाएर भोट मागेको भन्दै उजुरी पर्न थालेको प्रारम्भिक जानकारी आफूसँग भएकोले यसबारेमा आयोगका सुचना प्रविधि अधिकृतहरुले अनुगमन गरिरहको जानकारी दिए ।

 

उनले भने, ‘आयोगले उजुरी परेपछि चुनावी प्रचार सामग्री कहिले पोष्ट गरेको, कहिले शेयर गरेको भनेर अनुसन्धान थालेको छ, हिजो अस्ति फेसबुक वालमा पोष्ट भएको, शेयर भएको रहेछ भने केही छैन तर आज पोष्ट तथा शेयर गरेको प्रमाणित भयो भने निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा कारबाही गछौँ ।’

 

मैनालीले मौन अवधिमा कसैको लागि भोट माग्न पनि नपाईने र कसैको विरुद्धमा प्रचार गर्नपनि नपाईने जानकारी दिए । उनले भने,‘मौन अवधिमा प्रचारप्रसार गर्न र मत माग्न हुँदैन, यो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्नेछ ।’ उनले मौन अवधिमा आचारसंहिता कत्तिको पालना भएको छ वा छैन भनेर आयोगले देशैभरि नै आफ्ना अधिकारीहरुलाई खटाएको समेत जानकारी दिए । 

 

त्यस्तै उनले गोप्य रुपमा आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा सचिवहरुलाई खटाएको समेत जानकारी दिए भने जिल्लामा पनि सिडिओ लगायतका अफिसरहरुलाई यसको बारेमा निगरानी गर्न लगाएको जानकारी दिए । 

 

त्यस्तै मैनालीले निर्वाचन आयोगले छोटो समयमा पनि मतदाता शिक्षा कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गरेको स्पष्ट पारे । यद्धपी उनले मतदाता शिक्षा आयोगले सोचेजस्तेगरी प्रभावकारी रुपमा सञ्चालन गर्न नपुगेको हो कि भन्ने लागेको स्विकारे । उनले भने, ‘यो स्वाभाविक पनि हो । किनभने, छोटो समयमा हामीले धेरै कुरा गर्नुपर्याे । 

 

धेरै तयारीका साथै मतदाता शिक्षाका लागि कस्ता कस्ता सामाग्री बनाउने भन्ने डिजाइन गर्नुपर्यो । कसरी गर्ने, कस्तो र कति परिणाममा गर्ने भन्ने निर्णय गर्नुपर्याे । त्यसपछि छाप्नुपर्याे । मतदाता शिक्षा प्रचारका लागि कर्मचारी नियुक्त पनि गर्नुपर्याे । त्यसपछि उनीहरुलाई तालिम दिनुपर्याे ।’
उनले मतदाता शिक्षालाई कार्यान्वयनमा ल्याउनको लागि प्रत्येक गाउँ र नगरपालिकाहरुमा २१ हजार निर्वाचन शिक्षा कर्मचारीहरु खटाएको जानकारी दिए । उनले भने, ‘६ प्रकारका निर्वाचन चिन्ह छन्, यसले गर्दा केही समस्याहरु छन् ।’ यसका बावजुद पनि आयोगले पर्चा र पम्प्लेट र नमूना मतदान विधिलाई गाउँसम्मै पुर्याएको दाबी प्रस्तुत गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ