जेठ ४ गतेसम्म संशोधन नभए निर्वाचनमा भाग लिँदैनौं, र हुन पनि दिँदैनौंः राजेन्द्र महतो
‘बैशाख ३१ गतेको निर्वाचनमा हाम्रो अवरोध छैन र हुँदैन’
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
249
Shares
काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले आउने जेठ ४ गतेसम्मपनि संविधान संशोधन नभए मधेशी मोर्चाले तराई–मधेशमा कुनैपनि निर्वाचन हुन नदिने चेतावनी दिएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले जेठ ४ गतेसम्म संविधान संशोधन नभए, मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई लगार्ईएका झुठा मुद्दा फिर्ता नभए, राजबन्दी रिहाई नभए र जनसंख्याको आधारमा स्थानीय तहको संख्या नबढाए मोर्चाले कुनैपनि निर्वाचनमा भाग नलिने र मधेशमा निर्वाचन गर्न नदिने चेतावनी दिएका हुन्। उनले भने,‘निर्वाचनको लागि सरकारले माहोल बनाउनुपर्यो नि, अहिलेसम्म हामीसँग गरेको तीन बुँदे सम्झौता पालना गरेको छैन, अनि कसरी निर्वाचन हुन्छ, माहोल त बनाउनुपर्यो नि ?’
साक्षात्कारमा नेता महतोले संविधानमा आफ्ना हकअधिकार स्थापित् गराउनको लागि दर्जनौं मधेशी जनताहरुले साहादत दिएको बताउँदै सहिदहरुको सपना पूरा गर्नको लागि पनि संविधान संशोधन मार्फत अधिकारहरु स्थापित् गराउनुपर्ने स्पष्ट पारे। उनले भने,‘आवश्यक संविधान संशोधन नगरीकन कुनैपनि चुनाव हुन सक्दैन्।’ उनले संशोधन नगरीकन संविधान कार्यान्वयनको नाममा निर्वाचन गर्न खोजिए निर्वाचन नै प्रभावित हुने बताए।
उनले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाएपनि अहिलेसम्म पारित नगराएकोमा दुःख व्यक्त गर्दै भने,‘निर्वाचनको वातावरण बनाउनको लािग संशोधन प्रस्ताव त पारित गराउनुपर्यो नि, हाम्रो लागि पनि बाटो खुल्छ, हामीले पटक–पटक भनिसकेका छौं, तर मधेश केन्द्रित दलहरुलाई निर्वाचनबाट बञ्चित गराउन नश्लवादी र हठवादी सोच ठूला दलहरुले देखाईरहेका छन्, यसले मुलुकमा ठूलो दुर्घट्ना हुन्छ।’ उनले आफ्ना साथीहरुलाई झुठा मुद्दा लगाएको अवस्था मोर्चा कसरी निर्वाचनमा भाग लिन सक्छ भन्दै प्रश्न समेत गरे। उनले थपे,‘हाम्रा साथीहरुलाई झुठा मुद्दा लगाईएको छ, राजबन्दी बनाईएको छ, यी सबै फिर्ता हुनुपर्छ, अनि स्थानीय तहको संख्या त्यो पनि झापादेखि कञ्चनपुरसम्म जनसंख्याको आधारमा बढाउनुपर्छ।’
महतोले पहिलो चरणको निर्वाचनमा आफूहरुको कुनै अवरोध नभएपनि विरोध रहेको बताए। उनले भने,‘पहिलो चरणको निर्वाचनमा हामीलाई बञ्चित गराईयो, तर हाम्रो यो निर्वाचनमा कुनै अवरोध छैन, अवरोध नभएपनि हाम्रो यसमा विरोध चाहीँ छ।’
फरक प्रसँगमा उनले संविधान पूर्नलेखन नभई केही हुँदैन भनेर चर्को माँग राख्ने उपेन्द्र यादव सबै माँगहरुलाई लात हानेर निर्वाचनमा होमिएको आरोप लगाए । उनले भने,‘संविधान पूर्नलेखन नभई केही हुँदैन भनेर आवाज उठाउने उपेन्द्रजी, आज उठाएका माँगहरु पूरा नगरी निर्वाचनमा जानुभयो, निर्वाचनमा जानुथियो भने किन त्यत्रो आवाज उठाउनु नि ?’ उनले उपेन्द्र यादवले त्यस्तो गम्भिर गल्ती गरेजस्तो राजपाले भुल नगर्ने समेत स्पष्ट पारे।
उनले जेठ ४ गतेसम्म पनि संविधान संशोधन नभए र स्थानीय तहको संख्या जनसंख्याको आधारमा वृद्धि नभए थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिए । संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई पुग्छ त ? भनेर पत्रकार धमलाले गरेको प्रश्नमा महतोले भने,‘हामी आशावादी छौं, दुई तिहाई पुग्छ नि।’ यद्धपी उनले कुन–कुन पार्टी संशोधन विरोधी छन् भन्ने कुरा सारा विश्वलाई थाहा भैसकेको बताए। महतोले थपे,‘ईस्यु छोडेर जाने र ईस्युलाई समर्थन नगर्ने दुवैको विरुद्धमा संघर्ष र कडा आन्दोलनहरु हुन्छन्।’ उनले एमाले र संघीय समाजवादी फोरम नेपालले ईस्युलाई समर्थन नगरेको र ईस्यु छोडेको आरोप लगाएका हुन्।
त्यस्तै उनले पहिलो चरणको निर्वाचनमा जसरी दोस्रो चरणको निर्वाचनमा बञ्चित हुनुपर्ने अवस्था नै आफूहरुले आउन नदिने स्पष्ट पारे। उनले भने,‘हाम्रा कुरा बडा स्पष्ट छन्, हाम्रा माँगहरु पूरा नभए, हामी दोस्रो चरणको निर्वाचन हुन दिन्नौं।’ महतोले संघीय गठबन्धन एउटा मात्रै भएको र त्यसको संयोजक महन्थ ठाकुर रहेको समेत दाबी गरे। उनले थपे,‘संघीय गठबन्धनको संयोजक महन्थजी हुनुहुन्छ, र के कुरामा प्रष्ट हुनोस् भने गठबन्धन एउटामात्रै छ, हिजो मैले एउटा प्रेस वक्तव्यपनि हेरें, संघीय समाजवादी फोरमले जारी गरेको, तर त्यो गठबन्धन भनेको संघीय समाजवादी फोरमको भातृ संगठन हो।’