रेणुलाई प्रचण्ड पुत्री भनेको मीठो लागेको छैन, मेरो आशिर्वाद लागेको होइन : प्रचण्ड
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
505
Shares
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरकी मेयर उम्मेदवार रेणु दाहाललाई प्रचण्ड पुत्री भनेको नमिठो लागेको बताएका छन् ।
चितवनमा काँग्रेस–माओवादीले आयोजना गरेका संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मिडियामा रेणु दाहाललाई प्रचण्ड पुत्री भनेको नमिठो लागेको छ । हो रेणु हाम्रै छोरी हुन्, पक्कै पनि हुन् । मेरो छोरी त हुँदै हो । तर, मेरो कारणले मेयरको उम्मेदवार भएको भने होइन । उसले बाल्यकाल देखिनै आफ्नो धरातल आफै बनाएको छ । बच्चैदेखि आफै ठाउँ बनाएको छ । सशस्त्र संघर्षका क्रममा कयौँ जिल्लाहरु पुगेकी छन् ।’
रेणु दाहाल प्रचण्ड पुत्री भएको कारण मात्र उम्मेदवार भएको होइन, दाहालले थपे, ‘उसको आफ्नो योगदान र त्याग छ । प्रचण्ड पुत्री मात्र भनेर रेणुलाई व्याख्या गरियो भने अन्याय हुन्छ ।’ प्रचण्ड पुत्री भएकै कारण मेयरको उम्मेदवार भयो ठान्यो भने त्यो गलत हुन्छ । आफ्नो दक्षता, क्षमता र मेहनतले मेयरको उम्मेदवार भएको हेक्का चितवन बासैले राख्नै पर्छ, प्रधानमन्त्री दाहालले भने । रेणु दाहाल र पार्वती शाहले यो सभामा राखेकै कुराहरु काफी छन् । दाहालले अगाडि भने, ‘भरतपुर महानगरमा दुवै पदका उम्मेदवार महिला बन्नु एउटा नमुना भइहाल्यो । अब दुवै जनाले विश्वकै नमुना महानगर बनाउनेमा म विश्वस्त छु ।’ त्यो समय आइसकेको छ ।
काँग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालले एउटै मञ्चमा उभिएर संयुक्त गठबन्धनलाई भोट मागे । भरतपुर महानगरपालिकामा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् । कांग्रेसले मेयरमा माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ भने उपमेयरमा माओवादीले काँग्रेसकी पार्वती शाहलाई समर्थन गरेको छ ।