एमाले प्रदेश सभा र संघीय संसदको चुनाव पनि प्रतिपक्षमै बसेर लडन तयार होस् : गगन थापा
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
324
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेले यो स्थानीय तहको चुनाव मात्र होइन यसपछि हुने प्रदेशसभा केन्द्रीय चुनाव पनि प्रतिपक्षमै बसेर लड्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय चुनाव प्रचार प्रसार समन्वय उपसमितिले गरेको नेपाल प्रेस यूनियनको केन्द्रीय कार्यालय थापा गाँऊमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नेता थापाले सो कुरा बताएका हुन्।
“सरकार बनाउन अंक गणित पनि मिल्नु पर्छ” दोस्रो चरणको चुनाव एमालेको नेतृत्वको सरकारले गराउने भनेर चलाइएको हल्ला एकदमै निराधार भएको बताउँदै कांग्रेस केन्द्रीय सदस्य थापाले भने,“भर्खरै मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक) सरकारमा आएको छ, अब वर्तमान गठबन्धन संविधानको पूर्ण कार्यान्वयन गराउँदासम्म जारी रहन्छ।”
नेपाली कांग्रेस केन्द्रीय चुनाव प्रचार प्रसार समन्वय उपसमितिका उपसंयोजक समेत रहेका थापाले स्थानीय तहको प्रथम चरणको चुनावपछि यही गठबन्धन अन्तरगत कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्पष्ट पारे । “यस सम्बन्धमा नेपाली कांग्रेस र माओवादी केन्द्रका बीच भएको भद्र सहमति अनुरुपनै कांग्रेसको नेतृत्वमा सरकार बन्छ ” थापाले भने । उनले झण्डै दुई तिहाईको निकट रहेको वर्तमान गठबन्धनको विकल्प तत्काल नदेखिएको पनि दावी गरे ।
उनले सरकारमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिक भर्खरै सामेल भएको उल्लेख गर्दै भने,“ पहिलो चरणको निर्वाचन पछि नयाँ सरकार बन्छ, संविधान संशोधन गरिन्छ र दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई पनि सहभागी गराइन्छ ।” उनले अहिलेको संविधानले नै देशलाई निकास दिने पनि बताए ।
नेपाली कांग्रेसका नेता थापाले १२ बूँदेको कठोर निर्णयले द्न्द्को भूमरीमा रहेको मुलुकलाई शान्तिपूर्ण निकास दिएको उल्लेख गर्दै भने,“ त्यसबेला चुनाव नगरिकन माओवादीलाई संसदमा ल्याउदा अति भयो भन्ने पनि आवाज आएको थियो तर त्यो निर्णयले माओवादी जस्तो पार्टीलाई अहिले हामीसंगै मत माग्दै हिड्ने अवस्थामा ल्याएको छ ।” उनले अहिलेको गठबन्धन र स्थानीय चुनावको तालमेलबाट पनि लोकतान्त्रिक परिपाटी, देश र जनताको लागि सुखद परिणाम आउने विश्वास गरे ।
पत्रकार सम्मेलनमा युवा नेता थापाले संघीयताको मर्म अनुरुप नै नेपाली कांग्रेसका जिल्ला, नगर र गाँऊ समितिहरुले स्थानीय आवश्यकता अनुरुपको घोषणापत्र तयार गरी मत मागिरहेको उल्लेख गरे । “स्थानीय तहमा छलफल गरी विकास योजनाहरुको पहिचान भएको छ र त्यसलाई पूरा गर्ने बाचा गरिएको छ” थापाले भने,“ यसपटक हामीले केन्द्रबाट अत्यन्त थोरै प्रचार सामग्री उपलब्ध गराएका छौ, सबै कुरा स्थानीय तहबाटै पूरा भैरहेको छ ।”
उनले नेकपा एमालेलाई खोक्रो राष्ट्रियता र राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मको नाममा राजनीति गरिरहेकोले नेपाली जनताले उनीहरुलाई यथार्थ आकारमा ल्याउने बताए ।