भरतपुर। हाम्रा राजनीतिक दलका नेताहरु कतिसम्म बोलीको हेक्का नराखी बोल्छन् भन्नेकुरा कुनैपनि राजनीतिक दलका नेताहरुको ५ मिनेट मात्रै भाषण सुने पुग्छ। यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चितवनस्थित्भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुलाई बोलाएर रिपोर्टस क्लबले अन्तक्र्रिया कार्यक्रम गरेको थियो।
सोही कार्यक्रममा बोल्ने पालो आयो प्रधानमन्त्री पुत्री एवं महानगरकी मेयरकी उम्मेदवार रेणु दाहालको। उनले सो कार्यक्रममा आफू काँग्रेस र माओबादी केन्द्रको साझा उम्मेदवार रहकोले आफूले महानगरमा खसेको कूल मत मध्ये ८० प्रतिशत मत ल्याउने ठोकुवा गरिन्। उनले त्यहाँ आफू चर्काचर्का स्वरमा बोल्दै जाँदा परिवर्तनकारी पार्टीहरुको तर्फबाट आफू साझा उम्मेद्धवार भएकोले आफ्नो जित सुनिश्चित भएको दाबी प्रस्तुत गरिन् ।
उनले बोलिसकेपछि बोल्ने पालो आयो एमाले उम्मेदवार देवी ज्ञवालीको। सबैपार्टीलाई उछिनेर बोल्ने तर बोलिको ख्याल खासै नगर्ने एमालेका कार्यकर्ता न परे उनी पनि। उनले आवेशै आवेशमा बोले भरतपुर महानगरपालिकामा म शत प्रतिशत मत ल्याएर चुनाव जित्छ। सम्भवतः यो प्रजातान्त्रिक पद्धतिमा अहिलेसम्म निर्वाचनमा सहभागी भएर शत प्रतिशत मत ल्याएर जित्ने उम्मेदवार कहिँकतै छैनन् होला। तर उनले अन्य पार्टीमा शुन्य भोट आएर आफू शत प्रतिशतले चुनाव जित्ने बताएका हुन्।
उनले यति बोलिसकेपछि उपस्थितहरुमा भने हाँसोको फोहोरा छुटेको थियो । कार्यक्रममा दाहालले आफू काँग्रेस र माओवादी केन्द्रकी साझा उम्मेद्धवार रहेको भन्दै १२ बुँदे समझदारीदेखि लिएर विस्तृत शान्ति सम्झौताका सहयात्री दलबाट आफू साझा उम्मेदवार बनेको भन्दै आफ्नो पहिलो जित्ने आधार नै यही भएको दाबी गरिन। उनले काँग्रेस र माओवादीको सहकार्य र नेतृत्वदायी भूमिकाबाट नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, परिवर्तनका एजेण्डाहरु संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक स्थापित् भएको समेत दाबी गरिन्।
त्यस्तै, ज्ञवालीले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन आफु लागिपरेको बताए। ज्ञवालीले स्वच्छ, सफा, हराभरा महानगर बनाउन नेकपा एमालेले गुरुयोजनाका साथ अगाडि बढेको बताए। ज्ञवालीले नगरलाई यातायात, ट्राफिक र पार्किङ्गको उचित व्यवस्थापन गर्ने, नारायणी किनार र नगर वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, औद्योगिक क्षेत्रको रुपमा र मेडिकल सिटीको रुपमा चितवनलाई विकास गर्ने बताए।
पर्यटकीय सम्भावना बोकेको चितवनलाई पर्यटकको गन्तव्यको रुपमा विकास गरी कृषियोग्य जमिनलाई व्यवस्थित गरी आधुनिक कृषि प्रणालीमा खेती गर्ने तर्फ आफु प्रतिवद्ध रहेको बताए।
देशकै नमुना नगरको रुपमा विकास गरी भरतपुर महानगरपालिकालाई विश्वकै गन्तव्य स्थलको रुपमा विकास गर्न नेकपा एमालेलाई मतदान गरी विजयी गराउन समेत उनले अनुरोध गरे। उनले पनि भरतपुरमा पानीको सुविधा दिलाउने, २९ वटै वडामा पानी पुर्याउने आफ्नो लक्ष्य रहेको बताए। त्यस्तै उनले २९ वटै वडालाई जोड्नको लागि चक्रपथ तर उक्त चक्रपथ त्रिभुजीय आकारको हुने समेत बताए। त्यस्तै रोड कनेक्टिभीटीलाई पनि बढावा दिने उनले योजना सुनाए।
उनले मतदाताहरुलाई छातीमा हात राखेर र माटोको कसम खाएर मात्रै कुन उम्मेद्धवारलाई विजयी गराउने भनेर सोच्न आग्रह गरे । उनले पनि आफ्नो विजयी सुनिश्चित भएको दाबी गरे। उनले आफूले शतप्रतिशत मत ल्याउरु विजयी हाँसिल गर्ने दाबी गरे।