arrow

एमालेलाई मत नदिनेलाई हाइड्रोको शेयर दिन्न भनेपछि उत्पन्न तनावमा दोलखामा एकको मृत्यु

एमाले र माओवादी नेताका समर्थकको भिडन्त

logo
विक्रम कार्की ।
प्रकाशित २०७४ वैशाख २७ बुधबार
Dolakha_District.png

दोलखा। दोलखाका क्षेत्र नम्वर १ का सांसद पार्वत गुरुङले दोलखाको उत्तरी भेगमा सञ्चालनमा आउने तयारीमा रहेका साना जलविद्युत आयोजनाको शेयर एमालेलाई मत दिनेले मात्र पाउने भाषण गरेपछि उत्पन्न तनाव वढ्दै जाँदा साझ एकको मृत्यु भएको छ। सांसद गुरुङले एमालेको चुनावी कार्यक्रममा भाषण गर्ने क्रममा एमालेलाई मत दिनेलाई मात्र शेयर दिने बताएपछि त्यहाँ तनाव उत्पन्न भएको थियो। 

सांसद गुरुङ प्रवर्दक रहेको कम्पनीले स्थानियस्तरमा एक हाइड्रो सञ्चालनको तयारी गरेको छ। सोहि हाईड्रोपावरमा बाटो लैजान सांसद विकास कोषको करोडौ बजेट खर्चिएको तथा सरकारी विकास बजेट पनि हालिए पनि सांसद गुरुङले एमाले बाहेकलाई शेयर नदिने बताएपछि दिउँसो कार्यक्रमस्थलमै तनाव सिर्जना भएको थियो। जलविद्युत आयोजनामा स्थानियले शेयर प्राप्त गर्ने अधिकार भएपनि त्यो अधिकार पार्टी विशेषलाई मात्र दिन खोजिएको भन्दै माओवादी र काँग्रेसका कार्यकर्ताहरु र स्थानियहरु उनको विरोधमा उत्रिएका थिए। उनीहरु विरोधमा उत्रिएपछि कार्यक्रम समेत भाँडिएको थियो। कार्यक्रमस्थल गौरिशंकर गाउपालिकाको मार्बुमा केहिबेर स्थानिय काँग्रेस र माओवादी कार्यकर्तासँग एमाले कार्यकर्ताको झडप समेत भएको थियो । 

सो तनाव वढ्दै जाँदा साँझ स्थित विग्रेको थियो। साँझ गौरीशंकर गाउँपालिका-२ स्थित जुगुमा एमाले र माओवादी कार्यकर्ताबीच दुई पक्षीय झडप भएको थियो। झडपमा जुगुमा रहेको एक होटलमा बसिरहेका ३३ वर्षीय कुल बहादुर तामाङको मृत्यु भएको हो । तामाङ गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार रहेका गोरे तामाङका छोरा हुन् । उनलाई माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका दोलखा एमालेले आरोप लगाएको छ । 

माओवादी केन्द्रका कार्यकर्ताले कुलबहादुर लगायत अन्य ७/८ जनामाथि आक्रमण भएको एमालेले जनाएको छ। घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले राती २ बजे कुलबहादुरलाई स्थानीय स्कुलको चौरमा लडिरहेको अवस्थामा भेटेको थियो । प्रहरीले उपचारको क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा तामाङको मृत्यु भएको थियो । 

मृतक तामाङको टाउकोमा भाला र खुकुरीको गहिरो चोट लागेको छ । घटनामा स्थानीय दिलबहादुर बुढाथोकी पनि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । 

दिउँसोको तनाव साँझसम्म जारी थियो। चुनाव प्रचार सकेर राति स्थानीय लक्षु जिरेलको घरमा बास बसिरहेका तामाङ माथि भएको आक्रमण एउटा हत्या आसयबाट अभिप्रेरित भएको दोलखा जिल्ला जिल्ला क्षेत्र नं १ का एमाले सांसद पार्वत गुरुङले बताएका छन् । 

यसैगरी माओवादी केन्द्र जिल्ला सह-इन्चार्ज विशाल खड्काले गौरिशंकर गाउँपालिकामा चुनावी प्रचारमा गएकी इन्चार्ज देवी खड्कामाथि आक्रमण भएपछि जोगाउन खोज्दा यस्तो घटना भएको प्रतिक्रिया दिएका छन् । उनले घटनामा माओवादी केन्द्रका उम्मेदवार भरत खड्का समेत घाइते भएको दाबी गरे । 

जुँगुमा केही दिनयता ‘टाइगर ग्रुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्तालाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगायतका गतिविधि बढेपछि सो समूहसँग आबद्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत उजुरी परेको थियो। त्यस विषयमा प्रहरीले आवश्यक कारबाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो । मृतक तामाङ टाइगर ग्रुपसँग आबद्ध भएको बताइएको छ।

डिएसपी रवीन कार्कीले घटनाको जानकारी आउने वित्तिकै आफैंले घटनाबारे छानविन सुरु गरेको बताए । उनले सत्यतथ्य पत्ता लागइ दोषीमाथि कडा कारबाही गरिने जानकारी दिए । 

दोलखा काँग्रेसले चुनावको बेलामा सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ