उर्लंदो जनसागरले काँग्रेस बहुमत ल्याउने पक्का : महामन्त्री शशांक
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
624
Shares
नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनमा सबै स्थानमा नेपाली काँग्रेसले बहुमतले ल्याउने जिकिर गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र नम्बर १ का विभिन्न स्थानमा आयोजित चुनावी प्रचारप्रसार अभियानलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले काँग्रेसले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउनुको विकल्प नभएको जिकिर गरेका हुन् ।
नवलपरासीको प्रदेश नम्बर ४ मा रहेको हुप्सेकोट गाउँपालिका–३ देउरालीमा भएको चुनावी आम सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताए ।
कोइरालाले उर्लंदो जनसागरले नेपाली काँग्रेसको विजय सुनिश्चित गरिसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई अनुरोध गरे ।
कावासोतीको विष्णुनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता कोइरालाले संविधान जारी गरेको काँग्रेसले अब जनताको घरघरमा सिहंदरबारको अधिकार सुम्पिन लागेको बताए । जिल्लाको बुलिङटार, डेढगाउ, कीर्तिपुर, झयाल्बास, बन्दीपुर र कावासोती नगरपालिकाको विष्णुनगरमा आयोजित चुनावी सभामा सम्बोधन गरे ।
महामन्त्री कोइरालाले मंगलबारै नवलपरासीको देवचुली, बन्दीपुरलगायतका स्थानमा समेत चुनावी अभियानमा सहभागी बन्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र रहेको नवलपरासीको क्षेत्र नम्बरमा तीन दिनसम्म पार्टीको प्रचार प्रसार अभियानमा महामन्त्री कोइराला सहभागी बन्ने योजना छ ।