रुकुममा काँग्रेस-माओवादी कार्यकर्ताबीच दोहोरो झडप, स्थिती अझै तनावग्रस्त
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
385
Shares
काठमाडौं । सत्तासाझेदार दल नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओबादी केन्द्रका कार्यकर्ताहरुबीच रुकुममा दोहोरो भीडन्त भईरहेको छ । रुकुमको सानोभेरी गाउँपालिकामा काँग्रेसले गर्न लागेको चुनावी आमसभालाई माओबादीले विथोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।
सो क्षेत्रलार्इ माओबादीको पकड क्षेत्र मानिन्छ । तर नेपाली काँग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले काँग्रेसको पनि अहिले पकड रामैो बन्न थालेकोले आफूहरुलाई माओबादीले कार्यक्रम गर्न नदिएपछि तनाव सुरु भएको जानकारी दिए । उनले काँग्रेसले कार्यक्रम सुरु गर्न खोज्दा वाईसिएलले आक्रमण गरेपछि अहिले पनि दोहोरो भीडन्त भईरहेको जानकारी दिए ।
उक्त झडपमा आधा दर्जन भन्दा बढी घाईते भईसकेका छन् । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनको लागि दुई सेल अश्रुग्यास प्रहार गरेको भएपनि स्थिती अझै नियन्त्रणमा आउन सकिरहेको छैन । दुबै पक्षका गरी झण्डै ६ सयको हाराहारीमा भीडन्त भईरहेको सो गाउँपालिकामा काँग्रेसका तर्फबाट गोरख प्रसाद चन्द र माओबादीको तर्फबाट तारा बहादुर पुनले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।