निर्वाचन आयोग त प्रविधिमैत्री बनेकै हो, तर धोका दिए निर्वाचन अधिकृतले
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
304
Shares
काठमाडौं । निर्वाचन आयोगले यसपटक अघिल्ला निर्वाचनहरुको तुलनामा व्यापक रुपमा प्रविधिको प्रयोग गरेको छ । यसै पटकदेखि आयोगले मोबाईल एप्लिकेशन सेवा ल्यायो । सो सेवा ल्याउनुको उद्देश्य नै यही थियो कि छिटोभन्दा छिटो मुलुकका नागरिकहरुले निर्वाचनको बारेमा आधिकारिक जानकारी पाउन सकुन् ।
यही उद्देश्यका साथ लाखौं खर्चिएर निर्वाचन आयोगले एप्लिकेशन बनायो । एप्लिकेशनबाट मतदाता शिक्षासँगै मतदाताले आफ्नो परिचयपत्रको बारेमा जानकारी लिनसक्ने र र आफ्ना सम्भावित नेताहरुको बारेमा समेत जानकारी लिन सक्ने अपेक्षा निर्वाचन आयोगको थियो ।
आयोगले यसरी मोबाईल एप्लिकेशन सुरु त गर्यो त्यसमा छिट्टै उम्मेदवारको नामावलीहरु, उनीहरुले फिर्ता लिएको लगायतका जानकारीहरु यथाशक्य चाँडो पाउनको लागि भनेर आयोगले प्रत्येक स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतहरुलाई प्रतिव्यक्ति एकएक वटा ल्यापटप पनि पठायो । त्यतिमात्रै होईन ल्यापटपमा तयार पारेका सबै सामग्रीहरु छिटो भन्दा छिटो अपलोड गर्न सकियोस् भन्नको लागि इन्टरनेटको डिभाईस पनि निर्वाचन अधिकृतहरुलाई नै दिईएको निर्वाचन आयोगले जनाएको छ । तर दूर्गम जिल्लाको त परैको कुरा मुलुकको राजधानी रहेको काठमाडौं जिल्ला र सिंहदरबारको ५ सय मिटरको दूरीमा रहेको काठमाडौं महानगरपालिकाको निर्वाचन कार्यालयले नै अहिलेसम्म उम्मेदवारहरुको नामावली तयार पार्न सकेको छैन ।
निर्वाचन आयोगले निर्वाचन सम्बन्धि जानकारी पाउन धेरै ढिला भयो भनेर नै यस्तो सुविधा दिईएको जनाएको छ । तर सबै प्रविधि सहितको सुविधालाई पनि निर्वाचन अधिकृतहरुले प्रयोग गर्न नजानेको आरोप निर्वाचन आयोगका एक अधिकारीले लगाए । काठमाडौं महानगरपालिका निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम प्रसाद ढकालले काठमाडौं महानगरपालिकाको सबै उम्मेदवारहरुको नामावली तयार पारिसक्न अझै एक दुई दिन लाग्ने जानकारी दिए । हाम्राकुरासँगको कुराकानीमा उनले सो जानकारी दिएका हुन् । सबै सुविधाका बावजूत पनि किन यति ढिला भयो त ? भन्ने प्रश्नमा ढकालले भने समग्रमा भन्दा त्यस्तैत्यस्तै भयो अबको एक दुई दिनमा सबै तयार हुन्छ ।
यदि निर्वाचन अधिकृतहरुले समयमा नै आ आफ्नो निर्वाचन क्षेत्रको विवरण आयोगले तयार पारेको सफ्टवेयरमा आफ्नै ल्यापटपबाट पोष्ट मात्रै गरेको भएपनि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेकै दिन सबै नेपालीले सो बारेमा जानकारी पाउन सक्थे । तर, आयोगले सुरु गरेको प्रविधिमैत्री काममा निर्वाचन अधिकृतहरुले धोका दिएको आयोगका ती अधिकारीले आरोप लगाए । आयोगको अहिलेको मोबाइल एप्लिकेसनमा निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतले तयार पारेको अन्तिम नामावली एक क्लिक गरेको भरमा एप्लिकेसन प्रयोगकर्ताको हातहातमा पुग्ने प्रविधि जडान गरिएको छ ।
अहिले लमजुङ पोखरा, ललितपुर लगायत जिल्ला बाहेक अन्यत्रका अधिकांश जिल्लाहरुबाट तथ्यांक सिस्टममा अपलोड गरिएको छैन । जसका कारण अहिलेको निर्वाचन आयोगको प्रविधिमैत्री सेवा नाममात्रैको सावित हुने सम्भावना बढ्न थालिसकेको छ ।
निर्वाचन आयोगले कानूनी व्यवस्था अनुसार नै उम्मेदवारहरुको तथ्यांक अभिलेख राख्ने, त्यसको भेरिफाई गर्ने, चुनाव चिह्न प्रदान गर्ने र त्यसको दाबी विरोधको छिनोफानो गर्ने लगायतका सबै काम गर्नको लागि निर्वाचन अवधिभरको लागि निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हुन्छ । उनीहरु निर्वाचन आयोगको मातहतमा निर्वाचन अवधिभरको लागि भएपनि उनीहरु आफ्नै कार्यालयका कर्मचारीहरु नभएकोले निर्वाचन आयोगले पनि त्यति कडाईका साथ उनीहरुलाई निर्देशन नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।