उम्मेदवारका स्थानीय मुद्दा : वीरेन्द्रनगर सुधारको कार्ययोजना र फोहोरमैला व्यवस्थापन
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
664
Shares
काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आ आफूले मेयर पदमा जितेपछि आफ्नो क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बहस सुरु हुन थालेको छ ।
सरकारले बैशाख ३१ गते पहिलो चरणको निर्वाचनको मिति तय गरेसँगै सो क्षेत्रभित्र पर्ने तीनवटै प्रदेशका उम्मेदवारहरुले आ आफ्ना एजेण्डाहरु समेत प्रस्तुत गर्न थालेका छन् । यसै सन्दर्भमा प्रदेश नं ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको मेयरका उम्मेदवार तथा उपमेयरका उम्मेदवारहरुले पनि आफ्नो एजेण्डा प्रस्तुत गर्न थालेका छन् ।
देवकुमार सुवेदी
नेपाली कांग्रेसका तर्फवाट मेयर पदका प्रत्यासी
वीरेन्द्रनगर नगरपालिका सुर्खेत
नेपाली कांग्रेसका तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका प्रत्यासी रहेका देवकुमार सुवेदीको जन्म वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ४ मा विक्रम संवत २०३३ साल मंसिर २७ गते भएको हो । पिता रविलाल सुवेदी र माता जगतकुमारी सुवेदीका माइला छोरा देवकुमार सुवेदीले विद्यालय शिक्षादेखि उच्चशिक्षा समेत सुर्खेतबाटै हाँसिल गरेका हुन् ।
स्थानीय नेरा प्रा.वि. ढोडेखालीबाट प्राथमिक शिक्षा र जन मा.वि.वीरेन्द्रनगरबाट माद्यमिक शिक्षा हाँसिल गरेका सुवेदीले त्यहाँबाटै एसएलसी पास गरे । शिक्षा संकाय तर्फबाट स्नातक तह र ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण सुवेदी लगातार दुई कार्यकाल वीरेन्द्रनगर नगरपालिकाको नगर सभापतिमा निर्वाचित भएका छन् । सुवेदी राजनीतिसंगै अन्य सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छन् । नेपाल रेडक्रस सोसाईटी, वीरेन्द्रनगर जेसीज, नेपाल परिवार नियोजन संघ लगायत अन्य सामाजिक संघसंस्थाहरुमा आवद्ध देवकुमार सुवेदी कुशल वक्ता समेत हुन् ।
राजनीतिमा देवकुमार
पिता रविलाल सुवेदी जिल्लाका एक परिचित शिक्षक समेत भएको हुँदा देवकुमार सुवेदीको परिवार त्यतिबेलाको राजनीतिक घटनाक्रमसंग परिचित नै थियो । परिवारमा राजनीतिक चेतना भएको हुँदा उनले आफ्नै ईच्छाले राजनीतिमा प्रवेश गरे । राजनीतिक चेतना भएको र नेतृत्व गर्नसक्ने क्षमताकै कारण समयक्रमसँगै उनले आफू अध्ययन गर्ने जन उच्च माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष र सुर्खेत क्याम्पस शिक्षाको स्ववियू सभापतिमा निर्वाचित भएर समेत काम गरेको अनुभव संगालिसकेका छन् ।
२०४६ सालको जनआन्दोलन र त्यतिखेरको सरकारले गरेको दमन आफ्नै आँखाले देखेका थिए । त्यसैले बहुदल स्थापना भए लगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जन माध्यमिक विद्यालय वीरेन्द्रनगरमा संगठन विस्तार गर्न आउँदा उनले इकाइ कमिटीको सचिव भएर काम थाले । त्यसपछि नेपाल विद्यार्थी संघको जिल्ला कमिटी सचिव, सुर्खेत क्याम्पस शिक्षाको स्ववियू उपसभापति, सभापति, नेविसंघको केन्द्रीय सदस्य हुँदै क्रमशः पार्टीको विद्यार्थी विभागको केन्द्रीय सदस्यसम्म भए । त्यसपछि पार्टीको जिल्ला कार्य समितिको सदस्य बनेका सुवेदीलाई वीरेन्द्रनगर नगरपालिकाको नगर समिति सभापति बन्ने अवसर समेत प्राप्त भयो।
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट प्रथम पटक नगर सभापतिमा बिजयी भएका सुवेदी दोश्रो पटक १३ औँ महाधिवेसनबाट पनि अत्यधिक मत ल्याएर पुनः नगर सभापतिमा निर्वाचित भए । देवकुमार आफु राजनीतिमा आउनुको मुख्य कारण समाजलाई रुपान्तरण गर्न र आर्थिक समृद्धिको बाटोमा अघि हिडाउनु नै हो भन्छन् ।
मेयर निर्वाचित भएपछिका योजना
२० बर्षपछि हुँदै गरेको स्थानिय निर्वाचनमा अधिकारसम्पन्न स्थानीय तह अन्तर्गत प्रदेश नम्बर ६ को भावी राजधानीका रुपमा समेत लिईएको वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका प्रत्यासी देवकुमार सुवेदी युवा मात्र नभई नगरको स्पष्ट योजना सहित अघि आएको उम्मेदवारका रुपमा आफुलाई चिनाउन चाहन्छन् । वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन दीर्घकालिन गुरुयोजनाहरु निर्माण गरि कार्यान्वयन गर्ने उनको योजना छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्ने, उपत्यकामा अर्को हटलाईन सडक निर्माण गर्ने उनका योजनाहरु हुन् ।
आफ्नो अध्ययनको विषय ग्रामीण विकास नै भएकोले भर्खरै वीरेन्द्रनगर नगरपालिकामा गाभिएका ग्रामीण ईलाकाहरुलाई कसरी सम्पन्न बनाउने भन्ने बारेमा आफूसँग स्पष्ट कार्ययोजना रहेको बताउने सुवेदीले सुन्दर वीरेन्द्रनगर बनाउनका लागि बाहिरी चक्रपथ निर्माण, फोहोर मैला व्यवस्थापन र शहरी बेरोजगारहरुका लागि ठोस योजना बनाउने योजनाहरु समेत अघि सारेका छन् । साथै योजनाबद्ध र समृद्ध सहर पनि उनको अर्को कार्ययोजना रहेको छ ।
खानेपानी समस्या भोगिरहेको वीरेन्द्रनगर नगरपालिकाका वृहत् र दीर्घकालीन योजना अन्तर्गत उत्तरी जलाधारका मुहान संरक्षण गर्ने र खानेपानी वितरणलाई व्यवस्थित गर्ने, भेरी नदीको पानी लिफ्टिङ गरी वीरेन्द्रनगरमा ल्याउने सुवेदीका भावी योजनाहरु हुन् ।
जानकी सिंह
उपमेयर पदकी प्रत्यासी
वीरेन्द्रनगर नगरपालिका
वीरेन्द्रनगर नगरपालिकाको उपमेयर पदकी प्रत्यासी जानकी सिंह पार्टीकी एक जुझारु, कर्मठ र परिपक्व महिला नेतृमा पर्दछिन् । २०४६ साल भन्दा अघिदेखि नै राजनीतिमा सक्रिय सिंह महिला संघको जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै हाल महिला संघको केन्द्रीय कोषाध्यक्ष छिन् । उनी १२ औँ महाधिवेसनमा पार्टीको महाधिवेसन प्रतिनिधि समेत थिईन् । २०६२÷०६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाउने क्रममा गिरफ्तार समेत भएकी जानकीलाई पार्टीको स्पष्ट वक्ताको रुपमा समेत चिनिन्छ ।
सिंहसँग हाल वीरेन्द्रनगर नगरपालिकामा गाभिएको तत्कालिन लाटिकोइली गाविसको वडा नम्बर सातबाट वडाध्यक्षमा निर्वाचित भएर काम गरिसकेको अनुभव समेत छ । सिंह आफू निर्वाचित भएपछि स्थानीय तहमा महिलाको आवाज बलियो बनाउने, स्थानीय विकासको काममा महिलाको अगुवाई सुनिश्चित गराउने र पछाडि पारिएको बर्गको आवाज, मुद्धा अनि मागलाई एकीकृत वीरेन्द्रनगरको गुरुयोजनामा समेट्ने योजना रहेको बताउँछिन् ।