arrow

प्रभावकारी बन्दै निर्वाचन आयोगको कल सेण्टर, बढी जिज्ञाशा मतदाता शिक्षामा  

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
call_center_NCU.jpg

काठमाडौं । पछिल्लो स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोग उच्च प्रविधिमय बन्दै गएको छ । अघिल्ला निर्वाचनहरुको तुलनामा यस पटक स्वाग्राही लक्षित प्रविधिका सुविधाहरुले निर्वाचन आयोगलाई मतदाताहरुसामु झनै नजिक तुल्याएको छ । 

 

प्रविधिको विकासको क्रममा निर्वाचन आयोगले यसै वर्षदेखि निर्वाचन मोबाईल एम्लिकेसनको सुरुवात गरेको छ । सबै जानकारीहरु एकै ठाउँमा पाउने त्यो प्रविधिकाकारण निर्वाचनसँग सम्बन्धित सबै जानकारीहरु मतदाताले बसीबसी एकै ठाउँबाट पाउने भएका छन् । 

 

त्यस्तै, जिज्ञाशाहरु समाधान गर्नको लागि निर्वाचन आयोगले यसैवर्षदेखि कल सेन्टरको पनि शुभारम्भ गरेको छ । निर्वाचनसँग सम्बन्धित सबै जानकारी पाउनको लागि आयोगले १६६००१४४२२२ नम्बरको निशुल्क टेलिफोन सेवा सुरुवात गरेको आयोगमा अहिले १२ जनाको गुनासो एकैपटक सम्बोधन गर्नसक्ने क्षमताको कल सेण्टर रहेको आयोगका सहसचिव एवं सूचना तथा प्रविधि महाशाखा प्रमुख लक्ष्मीप्रसाद यादवले जानकारी दिए । 

 

उनका अनुसार अहिले एकैपटकमा ६ जनाको कुरा गर्ने र बाँकी ६ जनालाई होल्डमा राखेर अर्काे फोन सकिएपछि उठाउने व्यवस्था मिलाईएको छ । तर चाप बढेको खण्डमा भने १२ जनासम्मले एकैपटक सेवा लिन सक्ने क्षमता कल सेण्टरको छ ।

 

बैशाख १५ गतेदेखि १० दिनको अवधिमा हेर्दा आयोगको कल सेण्टर प्रभावकारी देखिएको छ । १० दिनमा विभिन्न जिज्ञासाहरु लिएर कूल ११ सय ५४ जनाले सेण्टरबाट सेवा लिईसकेका छन् । जसमध्ये सबैभन्दा धेरै मतदाता शिक्षासँग सम्बन्धित जिज्ञासा बोकेर कूल ३ सय ९५ जनाले टेलिफोन गरेका छन् । 

 

त्यस्तैगरी, मतदाता नामावलीसम्बन्धी जिज्ञासा बोकेर ३ सय ८७ जनाले टेलिफोन गरेका छन् । आचारसंहिताको बारेमा जानकारी लिनको लागि कूल ३४ जनाले टेलिफोन गर्दा आयोगको वेभसाईट र सुरक्षा सम्बन्धी जानकारीका लागि क्रमशः ९ जना र २ जनाले टेलिफोन गरेको बताईएको छ । निर्वाचन प्रक्रिया र अन्य विषयको बारेमा जानकारी लिनको लागि क्रमशः ६० जना र १ सय ८२ जनाले टेलिफोन गरिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

 

प्रमुख यादवले यो प्रविधिमा पनि अझै धेरै पथ गर्नुपर्ने आवश्यकता रहेकोले यसमा आउँदो निर्वाचनमा अझै थप सुविधा थप्दै जाने प्रतिवद्धता व्यक्त गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ