सिरहा । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम्म १४ थानमात्र हतियार बुझाएको छ ।
सिरहा जिल्लामा ३३२ थान विभिन्नखालका इजाजत प्राप्त हतियार (बन्दुक) रहे पनि हालसम्म १४ थानमात्र हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।
बारबोर एकनाले, बारबोर दुईनाले, बाइसबोर राइफल एकनाले, बारबोर पेस्तोल, एयरगनसहित विभिन्न प्रकारका इजाजत प्राप्त हतियार रहे पनि हालसम्म १४ थानमात्र हतियार बुझाएको सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए।
स्थानीय निकायको निर्वाचनमा हतियारको गलत प्रयोग हुनसक्ने आशङ्कामा जिल्ला प्रशासन कार्यालय, सिरहाले चैत १० गतेदेखि वैशाख १५ गतेसम्म हतियार बुझाउन समयसीमा निर्धारण गरेको थियो । सिरहामा दोस्रो चरण अर्थात जेठ ३१ गते स्थानीय तहको निर्वाचन हुने भएकाले इजाजत प्राप्त हतियार बुझाउने समय अझै रहेकाले समयमै हतियार बुझाउने प्रजिअ श्रेष्ठले अनुरोध गरे।
निर्धारित समयमा हतियार नबुझाए प्रहरी परिचालन गरेरै भए पनि हतियार सङ्कलन गर्ने र सो क्रममा हतियार बरामद भएकामाथि कारबाहीसमेत गरिने प्रजिअ श्रेष्ठले बताए ।
सुरक्षा निकायले स्थानीय निकायको निर्वाचनमा इजाजत प्राप्त हतियार पनि चुनौती बन्न सक्ने शङ्का गरेको छ । रासस