काठमाडौँ । प्रहरीको गुन्डा नाइके सूचीमा रहेका राजीब गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् । मनाङ्गे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका काठमाडौँ प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए ।
चुनाव लक्षित सुरक्षा योजना अन्तर्गत एक सय ६० जना गुन्डा नाइकेलाई प्रहरीले पक्राउ गर्ने सूचीमा राखेको थियो । तीमध्ये ६० भन्दा बढी बी, सी ग्रेडका गुन्डाहरु प्रहरी फन्दामा परिसकेका छन् । एसएसपी जोशीले पक्राउ अभियानलाई तीब्र बनाइएको भन्दै अरु पनि निगरानीमा रहेको बताए ।
ुउनले भने, ‘आसन्न स्थानीय चुनावमा अप्रिय घटना नहोस् भनेर हामीले सुरक्षा सतर्कता र निगरानी बढाएका छौँ ।’ मनाङ्गे अहिले कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छन् । राजनीतिक छाताबाहिर बस्दा पटक–पटक पक्राउ परेपछि मनाङ्गे गएको पुसमा पुरानै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा फर्किएका थिए।
गत वर्ष असारमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई व्यापारीलाई धम्काएको र चन्दा आतंक मच्चाएको भन्दै पक्राउ गरी संगठित अपराधमा कारवाही अगाडि बढाएको थियो।
प्रारम्भमा उनी पुर्पक्षका लागि कारागार गएपनि एक महिनामै छुटेका थिए। आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको अभियोगमा मनाङ्गेविरुद्ध परेको मुद्दा विशेष अदालतमा विचाराधिन छ ।