arrow

काठमाडौका नगर हाँक्ने हिम्मत राख्ने काँग्रेसी उम्मेदवारहरु को कस्ता ?

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
congress-flag1.jpg

ललितपुर । तपाईलाई काठमाडौंमा उम्मेदवारी दिएकाहरु कस्ता व्यक्तिहरु हुन् भन्ने जिज्ञाशा जागिरहेको होला । मतदाताको यही जिज्ञाशा मेट्नको लागि विभिन्न राजनीतिक दलहरुले काठमाडौं महानगरपालिकाका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न थालेको छन् । 

 

यसै क्रममा नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकामा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । काँग्रेसले काठमाडौं महानगरका विरुद्ध अन्य नगरपालिकामा पार्टीका तर्फबाट नेतृत्व गर्नका लागि उम्मेदवार बनाइएका प्रमुख र उपप्रमुखहरुको वैयक्तिक विवरण सार्वजनिक गरेको हो ।


राजुराज जोशी, 
मेयरका उम्मेदवार 
काठमाडौं महानगरपालिका 

राजुराज जोशी  काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेुसका आधिकारिक उम्मेदवार हुन् ।  जोशी २०३५ सालबाट नेपाली कांग्रेसमा आवद्ध भई त्यसयता पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरूमा सक्रियताका साथ सहभागिता जनाउँदै आएका छन । प्रजातन्त्रको पक्षमा होमिएका जोशीले २०४२ मा एक वर्षभन्दा बढी बन्दी जीवन बिताएका थिए।  उनी अन्दोलनका क्रममा पटक पटक गिरफ्तार परे । उनी नेविसंघको जिल्ला उपाध्यक्ष, पार्टीको जिल्ला कार्यसमिति सदस्य, जिल्ला सचिव तथा पटक पटक महासमिति सदस्यको जिम्मेवारीमा रहेका छन् । जोशी सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।
 
हरिप्रभा खड्गी, 
उपमेयरकी उम्मेदवार 
काठमाडौं महानगरपालिका 

नेपाली कांग्रेसले कांग्रेस नेतृ हरिप्रभा खड्गीलाई काठमाडौं महानगरपालिकको उपमेयरको उम्मेदवार बनाएको छ । वि.सं.२०४२ सालमा नेपाली कांग्रेसमा आवद्ध भई पार्टीका संगठनमा सक्रियताका साथ सहभागी हुँदै आएकी  उनी निरंकुशताका विरुद्ध लड्दा पटक पटक गिरफ्तार भइन् । महिला संघमा इकार्इ सदस्यको जिम्मेवारी सम्हाल्दै क्षेत्र, जिल्ला हुँदै महिला संघको केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेकी नेतृ हुन् । उनी अहिले पार्टीको महाधिवेशन प्रतिनिधि छिन् । 


उपेन्द्र कार्की 
मेयरका उम्मेदवार 
कागेश्वरी मनोहरा नगरपालिका

नेपाली कांग्रेसले कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखको उम्मेदवार युवा नेता उपेन्द्र कार्कीलाई बनाएको छ । २०४६ सालअघि नै नेपाली कांग्रेसको राजनीतिमा आबद्ध भएका कार्कीले राजनीतिक यात्रा नेपाल तरुण दलबाट आरम्भ गरेका हुन् । तरुण दलसहित पार्टीको विभिन्न तहमा रहेर काम गरेका कार्की यतिबेला क्षेत्रीय सभापतिको भूमिकामा छन् । यो कार्कीको दोश्रो कार्यकाल हो । कार्की त्यस क्षेत्रमा निकै लोकप्रिय छन् । पार्टीका नेतृत्वमा सञ्चालित सबै आन्दोलनमा उत्तिकै सक्रियपूर्वक सहभागीता जनाएका उनलार्इ काँग्रेसले आधिकारिक उम्मेदवार बनाएका हुन् ।


अनिता अधिकारी 
उपमेयरकी उम्मेदवार
कागेश्वरी मनोहरा नगरपालिका

नेपाली कांग्रेसले कागेश्वरी मनोहरा नगरपालिकामा अनिता अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । उनको राजनीतिक सक्रियता महिला संघबाट सुरु भएको हो । उनी सामाजिक संघ संस्था र महिला संघको जिम्मेवारीमा रहेर काम गरिरहेकी छन्।

 

राजकुमार नकर्मी 
मेयरका उम्मेदवार
कीर्तिपुर नगरपालिका

नेवार बाहुल्य क्षेत्र कीर्तिपुरमा नेपाली कांग्रेसले राजकुमार नकर्मीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । नकर्मी २०३७ सालमा नेपाली कांग्रेसमा आवद्ध भई त्यसयता पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरूमा सक्रियताका साथ सहभागी हुँदै आएका छन् । उनी२०४६ सालको जनआन्दोलन परिचालन समिति कीर्तिपुरको संयोजक बनेका थिए। महेन्द्र रत्न क्याम्पस ताहाचालको नेविसंघ इकाइ सदस्य हुँदै पार्टीको जिल्ला सदस्य, क्षेत्रीय सभापतिको जिम्मेवरीमा रहेर काम गरेका थिए । २०४८ सालपछि उनी पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका छन । नकर्मी हाल पार्टीको महासमिति सदस्य र नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको सचिव छन् ।राजनीतिका अलावा उनी सामाजिक सेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् 


जेनिसा महर्जन
उपमेयरका उम्मेदवार 
कीर्तिपुर नगरपालिका

नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको उपप्रमुखमा जेनिसा महर्जनलाई अघि सारेको छ । उनी लामो समायदेखि कांग्रेस राजनीतिमा सक्रिय छीन। महर्जन २०५४ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ बाट महिला सदस्य निर्वाचित भएकी थिइन । सामाजिक क्षेत्रमा समेत सक्रिय रहेकी महर्जन हाल नेपाल महिला संघ काठमाडौं क्षेत्र नम्बर १० को क्षेत्रीय सभापतिको जिम्मेवारीमा छिन् ।

सन्तोष चालिसे
मेयरका उम्मेदवार
गोकर्णेश्वर नगरपालिका 

सन्तोष चालिसेलाई नेपाली कांग्रेसले गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदको उम्मेदवार चयन गरेको छ । चालिसे २०४६ सालमा नेपाली कांग्रेसमा आवद्ध भई त्यसयता पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरूमा सक्रियताका साथ सहभागी हुँदै आएका छन्।उनी आन्दोलनका क्रममा पटक पटक गिरफ्तार भई थुनामा परेका थिए। चालिसे जोरपार्टी गाविसको दुई पटक वडा अध्यक्ष एक पटक उपाध्यक्ष निर्वाचित निर्वाचित भएका थिए । नेपाली कांग्रेस जोरपाटी गाउँ इकाइ समितिको उपसभापति,कावा सभापति हुँदै सभापति भएका थिए । महाधिवेशन प्रतिनिधिको भूमिकामा रहेका चालिसे हाल काठमाडौ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति हुन् । उनी मानव अधिकार तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय सक्रिय छन् । 


शान्ति नेपाल
उपमेयरका उम्मेदवार 
गोकर्णेश्वर नगरपालिका 

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले शान्ति नेपाललाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । उनी शिक्षण पेशा छोडेर उप–मेयरमा चुनाव लड्न लागेकी हुन् । २०५२ साल देखि २०५८ सम्म उनले गोकर्ण गाउँ इकाई समितिको महिला संघ सभापतिको जिम्मेवारी सम्मालेकी थिइन । उनी १२ औ अधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि बनेकी थिइन भने हाल पार्टीको निर्वाचित क्षेत्रीय सचिव हुन्। उनी स्थानीय स्तरका महिला सञ्जालको नेतृत्व गर्छिन।


घनश्याम गिरी 
मेयरका उम्मेदवार 
चन्द्रगिरी नगरपालिका

चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले घनश्याम गरीलाइ प्रमुखको उम्मेदवार बनाएको छ । उनी शिक्षण पेशा छोडेर राजनीतिमा आएका हुन् । लामो समयदेखि गिरी शिक्षक संघ मार्फत नेपाली कांग्रेसको सांगठनिक गतिविधिमा सहभागी हुँदै आएका थिए । सामाजिक रुपमा छवी राम्रो भएका गिरी हाल पार्टीको नगर सभापति हुन् । 

इन्दिरा श्रेष्ठ

उपमेयरकी उम्मेदवार

चन्द्रगिरी नगरपालिका

नेपाली कांग्रेसले उपमेयरको उम्मेदवार बनाएको इन्द्रावती श्रेष्ठ पार्टीको नगर कोषाध्यक्ष हुन् । उनी महिला संघको मध्यमबाट राजनीतिमा सक्रिय भएकी हुन् । सामाजिक क्षेत्रमा अग्रसर श्रेष्ठ तत्कालीन नैकाव गाविसको महिला संघको इकाई सभापति समेत भइसकेकी छन ।

 

हरिहर अधिकारी 

मेयरका उम्मेदवार

टोखा नगरपालिका

टोखा नगरपालिकाको प्रमुखमा हरिहर अधिकारीलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । अधिकारीले नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक यात्रा थालनी गरेका हुन् । २०४६ देखि नेपाली कांग्रेसमा आबद्ध हुनु भएका अधिकारी हाल पार्टीको महाधिवेशन प्रतिनिधि हुन् । उनले पार्टीको क्षेत्रीय सदस्य, सचिव, उपसभापति, सभापति र जिल्ला सदस्यको जिम्मेवारी समालि सकेका छन् । पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनमा सक्रियताका साथ सहभागी हुँदै आएका छन ।

 

रजनी थापा

उपमेयरकी उम्मेदवार 

टोखा नगरपालिका

काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसले रजनी थापालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । उनी ने वि संघको सीटिइभिटी उपाध्यक्षका साथै नेपाल ला क्याम्पसमा ने वि संघको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार थिइन्। युवा नेतृ थापा हाल पार्टीको नगर सचिव हुन् । जेसिसलगायतका दर्जनौं संघ संस्थामा आवद्ध छिन्। 


श्रीराम थापा
मेयरका उम्मेदवार
तारकेश्वर नगरपालिका

तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसले श्रीराम थापालाई प्रमुखको रुपमा अघि सारेको छ । थापा २०३६ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। उनले पार्टीको गाउँ इकाईको सभापति र जिल्ला सदस्यको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । थापा हाल पार्टीको नगर सभापाति हुन् । 

 

गीता न्यौपाने अर्याल

उपमेयर उम्मेदवार

तारकेश्वर नगरपालिका

गीता न्यौपाने अर्याललाई नेपाली कांग्रेसले तारकेश्वर नगरपालिकाको उप–प्रमुख पदमा उम्मेदवार बनाएको छ । अर्याल २०५७ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छिन् । सामाजिक रुपमा सक्रिय अर्यालले महिला संघ गोलढुंगा गाउँ इकार्इ समितिको सभापतिको भएर काम गरेकी थिइन् । 


मोहन बस्नेत
मेयरका उम्मेदवार
दक्षिणकाली नगरपालिका 

नेपाली कांग्रेसले दक्षिणकाली नगरपालिकामा तय गरेको प्रमुखका उम्मेदवार मोहन बस्नेत २०३२ सालबाट कांग्रेस राजनीतिमा सक्रिय छन् । बस्नेत २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन ताल्कु गाविस अध्यक्ष निर्वाचित भएका थिए । पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै आएका बस्नेत हाल पार्टीको नगर सभापति हुन्। 


वसन्ती तामाङ महर्जन
उपमेयरकी उम्मेदवार
दक्षिणकाली नगरपालिका 

नेपाली कांग्रेसले दक्षिणकाली नगरपालिकामा बसन्ती तामाङ महर्जनलाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । नेपाल महिला संघ र पार्टीका संगठन निर्माणमा महर्जनको महत्वपूर्ण भूमिका रहेको छ । राजनीति र समाज सेवालाई सँग सँगै अघि बढाएकाले उनको त्यस क्षेत्रमा राम्रो प्रभाव छ ।

 

मोहनबहादुर बस्नेत 
मेयरका उम्मेदवार
नागार्जुन नगरपालिका 

नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसले मोहनबहादुर बस्नेतलाई प्रमुखको उम्मेदवार बनाएको छ । उनी २०३६ सालमा नेपाली कांग्रेसमा आबद्ध भई त्यसयता पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनमा सक्रियताका साथ सहभागी हुँदै आएका छन् । उनी आन्दोलनका क्रममा पटक पटक गिरफ्तार भई थुनामा समेत परिसकेका छन्। २०५४ को स्थानीय निर्वाचनमा तत्कालिन सीतापाइला गाविसको गाविस उपाध्यक्ष निर्वाचित भएका थिए । पार्टीको जिल्ला कार्यसमिति कोषाध्यक्ष,महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी पूरा गरिसकेका बस्नेत हाल पार्टीको महासमिति सदस्य हुन् । 


कल्याणी खड्का 

उपमेयरकी उम्मेदवार

नागार्जुन नगरपालिका

नेपाली कांग्रेसले नागार्जुन नगरपालिकामा कल्याणी खड्कालाई उप–प्रमुखमा अघि सारेको छ । सामाजिक क्षेत्रमा समेत अग्रसर रहेकी खड्का महिला संघ मार्फत् पार्टी राजनीतिमा सक्रियता बढाएकी हुन । सक्रिय महिला नेतृ खड्का हाल क्षेत्र नम्बर ९ को महिला संघको सभापति हुन् । 


राजु श्रेष्ठ
मेयरका उम्मेदवार
बुढानीलकण्ठ नगरपालिका

नेपाली कांग्रेसले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा राजु श्रेष्ठलाई प्रमुखको उम्मेदवार बनाएको छ । श्रेष्ठ २०४६ सालअघिदेखि नेपाली कांग्रेसमा आबद्ध भएर राजनीतिमा सक्रिय भई त्यस यताका हरेक आन्दोलनमा सहभागी हुँदै आएका छन । उनी खेलकूदका माध्यमबाट राजनीतिक भूमिकामा आएका हुन् । उनी राजनीतिका साथै व्यवसायमा पनि संलग्न छन । श्रेष्ठमा जनताका बीचमा रहेर काम गर्न रमाउने स्वभाव छ । वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यसपछि पराकम्पका बेला स्थानीय जनताको घरदैलोमा पुगेर उद्धार र राहत सामग्री बितरण गरेकाले उनको लोकप्रियता चुलिएको छ । श्रेष्ठ हाल काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति छन । 


सुभद्रा खडका
उपमेयरकी उम्मेदवार 
बुढानीलकण्ठ नगरपालिका
बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले सुभद्रा खड्कालाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । खड्का २०३६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भई त्यसयता पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरूमा सक्रियताका साथ सहभागी हुँदै आएकी छन् उनी आन्दोलनका क्रममा कमलपोखरी र महाराजगन्जमा पटक पटक हिरासतमा परिन् । नेपाल महिला संघको सहसचिव, जनआन्दोलन समितिको सहसंयोजक, महासमिति सदस्यजस्ता पार्टीका जिम्मेवारी बाहेक वन उपभोक्ता केन्द्रीय कोषाध्यक्ष समेत हुन् ।
 
शंकर तिवारी 
मेयरका उम्मेदवार
शंकरापुर नगरपालिका 

शंकरापुरा नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसले शंकर तिवारीलाई अघि सारेको छ । युवा नेता तिवारीले पार्टीको जिल्ला सदस्य र क्षेत्रीय सचिवको जिम्मेवारी सम्हाली सकेका छन् ।

मञ्जु खड्का 
मेयरकी उम्मेदवार 
शंकरापुर नगरपालिका 

मञ्जु खड्कालाई नेपाली कांग्रेसले शंकरापुर नगरपालिकाको उप–मेयरमा अघि सारेको छ । खड्काले महिला संघको क्षेत्रीय सदस्यको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी छन । उनी हाल पार्टीको नगर कोषाध्यक्षको जिम्मेवारीमा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ