सल्यानको ढोरचौरमा तीनवटै मुख्य पार्टीको उम्मेदवार 'चलाउने' मात्रै
प्रकाशित २०७४ वैशाख २४ आइतबार
353
Shares
सल्यान । धान, मकै, गहुँ, जौ, कोदो लगाएतका अन्नवाली राम्रोसँग उब्जने सल्यानको ढोरचौर गाउँपालिका समृद्धिको पर्खाइमा रहेको छ । यहाँ सुन्तला खेती पनि हुने गर्दछ भने माथिल्लो भेगमा स्याउ खेती पनि हुने गरेको छ । साथै यस गाउँपालिकामा बाख्रापालन, तरकारी खेती व्यवसाय पनि किसानहरुले अंगालेका छन् ।
१३ हजार ५ सय ९३ जनसंख्या रहेको ढोरचौर गाउँपालिकामा ७ हजार भन्दा धेरै मतदाताहरु रहेका छन् । साविकको बांझकाडा, सिद्धेश्वरी र चांदेकरेञ्जी गाविसलाई मिलाएर ढोरचौर गाउँपालिका बनाइएको हो ।
यस गाउँपालिकामा ५ वडा रहेका छन् । ढोरचौर गाउँपालिकाको पूर्वमा बागचौर गाउँपालिका, पश्चिममा वन्गाडकुपिण्डे नगरपालिका, उत्तरमा कुमाखमालिका गाउँपालिका र दक्षिणमा शारदा नगरपालिका रहेका छन् । यहाँ धेरैले हिन्दू धर्म अंगालेका छन् भने पछिल्लो समय कतिपयले इशाइ धर्म मान्ने गरेको पाइन्छ । यस गाउँपालिकामा पनि स्थानीय तहको चुनावमा मुख्य तीन दलका उम्मेदवारहरुबीच प्रतिष्पर्धा हुँदैछ । रोचक त के छ भने यस पालिकामा तीन वटै दलका उम्मेद्धार चलाउने थरका रहेका छन् । र उनीहरु नातेदार पनि हुन् ।
काँग्रेसको तर्फबाट नरविर चलाउने
ढोरचौर गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा नरविर चलाउने काँग्रेसको तर्फबाट अध्यक्ष पदमा लड्दै छन् । मुख्य प्रतिष्पर्धी दल एमाले र माओवादी केन्द्रलाई पछि पार्दै अध्यक्षमा जित्ने उनको दाउ छ । यसका लागि उनले ढोरचौर गाउँपालिकाको विकासका लागि प्रतिवद्धता पनि जनाएका छन् ।
खासगरी ढोरचौर गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, भौतिकपूर्वाधारहरुको विकास गर्नमा आफु लागि पर्ने उनको प्रतिवद्धता छ । यस्तै ढोरचौरमा हुने गरेको तरकारी खेती र पशुपालनलाई व्यवस्थित, व्यवसायिक बनाउने, हरेक वडामा मुख्य रुपमा बिजुली बत्ति र स्तरीय मोटरबाटो पु¥याउने चलाउनेको प्रतिवद्धता छ ।
एमालेको तर्फबाट चित्र बहादुर चलाउने
नेकपा एमालेको तर्फबाट ढोरचौर गाउँपालिकामा अध्यक्ष पदमा चुनाव लड्न लागेका चित्र बहादुर चलाउनेले पनि यस गाउँपालिकामा आफ्नो जीत सुनिश्चित रहेको जनाए ।
कृषि, पर्यटनको अत्यन्तै सम्भावना बोकेको ढोरचौर गाउँपालिकाको समृद्धिका लागि गुरुयोजना बनाएरै अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । खासगरी दलित तथा पछाडि पारिएका समुदाय, व्यक्तिलाई माथि उठाउन विभिन्न कार्यक्रम चलाउने, ज्येष्ठ नागरिक, एकल महिलालाई विशेष सम्मान पुग्ने कार्यक्रम र भत्ताको सुविधालाई बृद्धि गर्ने चित्र बहादुरले प्रतिवद्धता जनाएका छन् ।
कृषिलार्इ आधुनिकीकरणका लागि त्यस अनुसारको कार्यक्रम नै लागु गरेर पकेट क्षेत्र घोषणा गरि जुन क्षेत्रमा जुन उत्पादन हुन्छ त्यसको उत्पादनमा बृद्धि ल्याउन किसानलाई हरेक सहयोग गरिने उनले प्रतिवद्धता जनाएका छन् । साथै सफा ढोरचौर, सबैलाइ सफा खानेपानी, विजुली, स्तरीय मोटरबाटो, गुणस्तरीय शिक्षाको व्यवस्था गरिने उनले प्रतिवद्धता जनाएका छन् ।
माओवादी केन्द्रको तर्फबाट नरविर चलाउने
स्थानीय तहको निर्वाचन २०७४ मा माओवादी केन्द्रले पनि काँग्रेसको झै एकै नाम गरेका नरविर चलाउनेलाई ढोरचौर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । उसो त काँग्रेस, एमाले, माओवादी तीनै दलका उम्मदवार चलाउने थरका छन् । र साइनोले यी तीनै जना नजिकका पर्छन् । माओवादी केन्द्रबाट अध्यक्ष पदमा चुनाव लड्न लागेका नरविरले गाउँपालिकालाइ विकसित बनाउन थुप्रै प्रतिवद्धताहरु जनाएका छन् ।
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण, व्यवसायिक तालिम दिई रोजगारी सृजना गर्ने, प्रदेश सदरमुकाम, जिल्ला सदरमुकाम तथा छिमेकी गाविस र नगरपालिका जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्नति गर्ने चलाउनेले प्रतिवद्धता जनाएका छन् ।
यस्तै गा.पा. भित्र प्रत्येक वडा तथा टोल मा जोड्ने हरित कृषि सडक निर्माण गर्ने तथा यस गाउँपालिकामा ६ बर्ष भित्र प्रत्येक घरघरमा विद्युत पुर्याउने उनको प्रतिवद्धता छ ।
१२ कक्षासम्म निशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने, गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण तथा प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी नागरिकलाइ निःशुल्क उपचार सेवा दिने र कुमाख क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन कुमाख केवुलकार, भ्युटावर निर्माण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।