काठमाडौँ। प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् ।
संसदको विशेषाधिकार र संवैधानिक सर्वोच्चताको सम्मान नगरिएको भन्दै उनीहरुले सर्वोच्चको आदेश खारेजीको माग गरेका छन् । प्रदर्शनकारीले शुक्रबार न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट सर्वोच्चका प्रधानन्यायाधीशमाथिको महाअभियोगका विषयमा जारी गरिएको अन्तरिम आदेश असंवैधानिक भएको भन्दै सो आदेश खारेज गर्न र जननिर्वाचित संसद्को अधिकार क्षेत्रको ख्याल गर्न आग्रह गरेका थिए ।
प्रदर्शनी मार्गबाट सुरु भएको विरोध जुलुस पुतलीसडक चोक पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध सभामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले असंवैधानिक आदेश तत्काल खारेज गरी संसद्को अधिकार माथि हस्तक्षेप बन्द गर्न आग्रह गरे ।
साहित्यिक निबन्धको शैलीमा आएको असंवैधानिक आदेशमा पुनर्विचार गर्न माग गर्दै अध्यक्ष महरले जननिर्वाचित संस्थाको मानमर्दन गर्ने कार्य आफूहरुलाई स्वीकार्य नहुने बताए।
अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने संविधानभन्दा माथि कोही पनि नभएको भन्दै संसद्को अधिकार क्षेत्र हनन गर्ने विषय आफूहरुलाई सह्य नभएको बताए। उनले भने, “सर्वोच्चको पछिल्लो आदेशले संसद्को विशेषाधिकार र संविधानको हुर्मत लिएको छ । यो युवा विद्यार्थीलाई स्वीकार्य हुन सक्दैन ।”
कार्यक्रममा नेविसङ्घका उपाध्यक्ष पुष्पविक्रम शाही, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रञ्जीत तामाङ लगायतको सहभागिता रहेको थियो । रासस