सँगै दूत राखेर ओली-प्रचण्डले वात मारे, ‘कार्की’महाभियोग फिर्ता लिन अल्टिमेटम
दोस्रो चरणको निर्वाचन जेठ १५ अघि नै गर्ने गरी कुरो अघि बढाउने
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
193
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन प्रधानमन्त्रीलाई अल्टिमेटम दिए ।
ओलीले व्यवस्थापिका–संसद्को बैठक सुरु हुनु अगावै महाभियोग प्रस्ताव फिर्ता लिन अल्टिमेटम दिएका भेटमा सहभागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जारकारी दिए । सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा ओलीले तत्काल महाभियोग प्रस्ताप फिर्ता लिन भनेको नेता नेम्बाङले बताए । एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर सरकार र सत्तारुढ दलहरुले नाजायज काम गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिन भने ।
यस्तै, एमालेले बजेट अघि नै दोस्रो चरणको चुनाव गर्न प्रस्ताव गरेकामा प्रधानमन्त्री दाहाल सकारात्मक देखिए । प्रधानमन्त्री दाहालले बजेट अघि नै दोस्रो चरणको निर्वाचन गर्न तयार रहेको बताएको नेता नेम्बाङले जानकारी दिए ।
एमाले अध्यक्ष ओलीले जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक वाध्यता रहेकाले त्यसअघि नै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने आफुहरुको अडान रहेको सुनाए ।
बैठकमा बजेट अघि नै निर्वाचन गर्ने विषयमा छलफल भएको र सरकार जेठ १५ अघि नै दोस्रो चरण चुनाव गर्न तयार रहेको बैठकमा सहभागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
दोस्रो चरणको निर्वाचन र बजेटका सन्दर्भमा निर्वाचन आयोग, प्रमुख राजनीतिक दलसहित मधेसी मोर्चा लगायतका दलहरुसँग छलफल गरेर एउटा निष्कर्षमा निकाल्ने विषयमा पनि परामर्श भएको नेता श्रेष्ठले बताए ।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई संविधान संशोधन प्रस्तावलाई समर्थन गरी दोस्रो चरणको निर्वाचन सहज बनाउन आग्रह गरे । प्रधानमन्त्रीले संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने प्रावधान रहेकाले यसमा आवश्यक समझदारी बनाएर अघि बढ्न पनि प्रधानमन्त्री दाहालले अनुरोध गरे ।