एमालेमुक्त दोलखा बनाउने काँग्रेस र माओवादीको उद्घोष, पुरा होला घोषणा?
काँग्रेसले फिर्ता लियो उपाध्यक्षको उमेद्वार, अध्यक्ष राख्यो उपाध्यक्ष माओवादीलाई
प्रकाशित २०७४ वैशाख २० बुधबार
933
Shares
दोलखा। स्थानिय तहको चुनावको लागि काँग्रेसले दोलखामा माओवादी केन्द्रसँग तालमेल गरि एमालेमुक्त जिल्ला बनाउने रणनीति बनाएको छ । यो तालमेल दोलखाका सबै स्थानिय तहमा हुनेगरि दुबै दलले तयारी गरेका छन् ।
काँग्रेस र माओवादीले एक अर्कालाई सघाउने रणनीति एमालेमुक्त दोलखाका लागि भएको काँग्रेस सभापति रुद्र बहादुर खड्का बताउँछन् । सभापति खड्का र माओवादी नेतृ देवी खड्काबीच भएको सहमति दोलखालाई एमालेमुक्त जिल्ला बनाउनका लागि भएको माओवादीका जिल्ला नेताहरु बताउँछन् । जिल्लाका सबै निकायहरुमा एमालेकै जगजगी भएपछि काँग्रेस र माओवादी एमालेलाई पाखा पार्ने रणनीति अनुसार लागिपरेका छन् ।
यसै क्रममा काँग्रेसले तामाकोशी गाउँपालिकामा पार्टीका तर्फबाट उपाध्यक्षमा उमेद्वार दिएकी सृजना सुवेदीको उमेद्वारी रद्ध गरेको छ । पार्टीका केन्द्रीय प्रतिनिधी किरण यादवले निर्वाचन अधिकृतलाई सम्वोधन गरि लेखेको पत्रमा सुवेदीले पार्टीका तर्फबाट मनोनयन गरेको पाइएको हुँदा सो रद्ध गर्न आग्रह गरिएको छ । उनले गरेको मनोनयन रद्ध गर्दै काँग्रेसले सो स्थान माओवादीका लागि खाली गराएको बताइएको छ। तामाकोशीको अध्यक्षमा भविन्द्र कार्की काँग्रेसबाट प्रत्यासी छन् भने माओवादीबाट रामचन्द्र पोखरेल उपाध्यक्षका प्रत्यासी छन्।
काँग्रेसले दोलखाका दुई नगरपालिका भिमेश्वरमा र जिरीमा पनि तालमेलको सम्भावना भएपनि त्यसमा भने सबै मैदानमा उत्रिएका छन् ।
भिमेश्वरमा नगरपालिकामा काँग्रेसले मेयरमा ईश्वरनारायण मानन्धर र उपमेयरमा शारदा थापालाई उमेद्वार बनाएको छ एमाओवादीले भने मोहन बहादुर थापा र कमला कार्कीलाई मेयर र उपमेयरमा उमेद्वार बनाएको छ।
जिरी नगरपालिकामा काँग्रेसले सोनाम शेर्पा र लिलादेवी जिरेललाई मेयर र उपमेयरको उमेद्वार बनाएको छ। माओवादीले भने गल्वु शेर्पा र चित्रमाया शर्मालाई मेयर र उपमेयरको उमेद्वार बनाएको छ ।
कालिञ्चोकमा माओवादीलाई काँग्रेसले अध्यक्षमा स्विकारेको छ । माओवादीले अध्यक्षमा कुल बहादुर बुढाथोकीलाई र काँग्रेसले गोपीलाल थामीलाई उपाध्यक्षमा उठाएको छ । गौरीशंकर गाउपालिकामा पनि काँग्रेसले माओवादीलाई सघाएको छ । गौरीशंकरमा माओवादीले नीमा लामा र काँग्रेसले कमल विक्रम खड्कालाई अध्यक्ष र उपाध्यक्षमा उठाएको छ। मेलुङमा भने तालमेल हुने सम्भावना रहेको बताइए पनि बुधवार दिउँसोसम्म तालमेल हुन सकेन। त्यहाँ काँग्रेसबाट वर्मा लामा अध्यक्ष र सीता तामाङलाई माओवादीले अध्यक्षमा उठाएको छ।
विगुमा पनि काँग्रेस र माओवादीबीच तालमेल भएको छ। जहाँ युधिष्ठीर खड्कालाई काँग्रेसले अध्यक्ष बनाएको छ भने सञ्जीव ओलीलाई माओवादीले उपाध्यक्ष बनाएको छ। वैतेश्वरमा समेत काँग्रेस र माओवादीले एमालेरहित दोलखा बनाउन तालमेल गरेका छन् । त्यहाँ काँग्रेसले अध्यक्षमा छवी लामालाई उठाउँदा रविचन्द्र आचार्यलाई उपाध्यक्षमा माओवादीले उठाएको छ ।
शैलुङमा भने काँग्रेस र माओवादी अलग अलग उठ्ने भएका छन्। शैलुङमा सिंहबहादुर तामाङ र उर्मिला कार्की अध्यक्ष र उपाध्यक्षका उमेद्वार भएका छन् भने रिमालबाबु श्रेष्ठ माओवादीबाट अध्यक्षमा उमेद्वार भएका छन्।