प्रधानमन्त्री कार्यालयका सचिव शर्मा महालेखा परीक्षकमा सिफारिस
प्रकाशित २०७४ वैशाख २० बुधबार
636
Shares
काठमाडौं । महालेखा परीक्षकमा प्रधानमन्त्री कार्यालयका सचिव टंकमणी शर्माको नाम नियुक्तिका लागि सिफारिस भएको छ । वुधबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा शर्माको नाम सिफारिस गरेको हो ।
परिषद्ले सचिव शर्माको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले जानकारी दिए । उमेर हदका कारण भानु प्रसाद आचार्य अवकाश पाएपछि महालेखा परीक्षकको ठाँउ लामो समयदेखि खाली थियो ।
अर्थ मन्त्रालयको सहसचिवमा लामो अनुभव लिएका शर्मा सचिवबाट अवकाश पाउनुअघि महालेखा परीक्षक सिफारिस भएका हुन् । शर्मा संसदीय सुनुवाईपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, संघीय प्रदेश, प्रदेश सभा, स्थानीय तह, संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, सुरक्षा निकायका सबै अंगलगायतका सरकारी कार्यालयहरुको लेखापरीक्षण महालेखाले गर्ने गर्दछ ।
यसअघि, मंगलबार बसेको संवैधानिक परिषदको वैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्यवहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरहेका दीप बस्न्यातको नाम सिफारिस गरेको थियो ।