प्रधानमन्त्री मख्ख : ‘मैले सबै दललाई निर्वाचनमा ल्याएँ’
प्रकाशित २०७४ वैशाख २० बुधबार
570
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफु सबै दललाई निर्वाचनमा सहभागी गराउन सफल भएको ठोकुवा गरेका छन् । प्रधानमन्त्री दहालले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, भयरहित र सुरक्षित रुपमा सम्पन्न गर्न सरकारले सम्पूर्ण ध्यान केन्द्रीत गरेको प्रष्ट्याएका छन् ।
वुधबार आयोजित राष्ट्रिय योजना आयोगको ३९औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने –‘राष्ट्रिय एकताका साथ सबै दलहरुको संकल्पसहित निर्वाचनमा जाने वातावरण बनाउन पाएकोमा मलाई खुसी र गौरवको अनुभूति भएको छ । स्थानीय तहको पहिलो निर्वाचनको उम्मेदवारी मनोनयनमा सबै राजनीतिक दलहरु सहभागी हुनु अत्यन्तै राम्रो राजनीतिक प्रगति हो ।’
प्रधानमन्त्री दाहालले सरकारले सुरु देखिनै तराई, मधेश, पहाड, हिमाल सबैलाई समेटेर राष्ट्रिय एकताका साथ निर्वाचन सम्पन्न गराउने पहलकदमी लिँदै आएको पनि सुनाए । राष्ट्रिय योजना आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले राजनीतिक क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको जिकिर गरे ।
मुलुक निर्वाचनमा होमिएसँगै आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै मन्त्रालय, योजना आयोगलगायतका निकायहरुको सामूहिक प्रयासको प्रशंसा गरे ।