एमाले र राप्रपाको गठबन्धनमा ‘पूर्वराजा’ सम्वादको कनेक्सन
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
178
Shares
काठमाडौं । प्रमुख विपक्षी एमाले र भरखरै सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ र ललितपुर जिल्लामा तालमेल गर्ने सहमति भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच तालमेल गर्ने विषयमा सहमति भएको हो ।
थापाका साथमा दिपक बोहरा समेत थिए । एमालेलाई मेयर र राप्रपालाई उपमेयर दिने सहमति भएको बताइएको छ । राप्रपा सरकारबाट बाहिरिनु अघि एमाले अध्यक्ष केपी ओली, पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाबाट बाहिरिएर नयाँ पार्टी खोलेका प्रकाशचन्द्र लोहनीबीचको छलफलले समेत यो गठबन्धनमा काम गरेको बताइँदै छ ।
राप्रपाको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी दिन राष्ट्रिय सभागृह पुगेका राजाराम श्रेष्ठ निकै बेर अल्झिए । अन्ततः उनी ब्याक भए । एमालेसँगको एलाइन्सपछि अब उनी उपमेयरको उम्मेदवारीमा चित्त बुझाउने अवस्थामा पुगेका छन् ।
सरकारले संसदमा संविधान संशोधनबारे छलफल गर्ने भनेकै दिन राप्रपाका १० जना सांसद संसदीय दलको बैठक र संसदमा उपस्थित भएनन् । एमाले अध्यक्ष ओली, पूर्वराजा शाह र नेता लोहनीबीचको भेटले उनीहरुलाई रोकेको बताइँदैछ । यद्यपि, लोहनीका एक वरिष्ठ नेताले बचाउ गर्दै कुनै छलफल नभएको बताएका छन् ।
त्यो भेटले अहिलेको एलाइन्सलाई पुष्टी गरेको बताइएको छ । यस्तै, राप्रपासँगको एलाइन्सकै कारण लामो समय देखि आकांक्षा राखेका केशव स्थापित नराम्रोसँग पछि परेका छन् । स्थापितलाई मेयरको उम्मेद्वार बनाउन चाहाने एमाले नेताहरु रुष्ट भएका छन् । पूर्वराजासँगको भेटपछि एमाले–राप्रपा एलाइन्सको मोडालिटी बनेको बताइँदै छ ।