उम्मेदवार दर्ताको तयारी गरेर सुतेका निर्वाचन अधिकृतको पासो लगाएको अवस्थामा उद्धार
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
556
Shares
रसुवा । खादाको पासो लगाई मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ ।
प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौँ पठाइएको हो ।
उनका अनुसार नाडीको चाप चलेपनि होस भने खुलेको छैन । मंगलबार बिहान ४ः१५ बजे जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कालिका गेस्ट हाउसको रेलिङबारमा घत्र्याक्घुत्रुक् आवाज आएपछि उनीसँग भित्र कोठामा बस्ने साथीले थाहा पाई स्थानीयवासीको सहयोगमा पासो फुकाली तत्काल नुवाकोटको अस्पतालमा उपचारार्थ पठाइए पनि होस नखुलेका कारण थप उपचारका लागि काठमाडौँ पठाइएको प्रसाईंले बताए ।
स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ताका लागि कालिका गाउँपालिकामा अर्को निर्वाचन अधिकृतको व्यवस्था भइसकेकाले मनोनयन दर्तामा कुनै असर नपर्ने मुख्य निर्वाचन अधिकृत कार्यालय रसुवाले जनाएको छ ।
यता विदुरबाट प्राप्त समाचार अनुसार उनको स्वासप्रश्वास सञ्चालनमा कठिनाई भएकाले अबस्था गम्भीर रहेको उपचारमा संलग्न सिटी अस्पताल विदुरका डा मनोज रिमालले जानकारी दिए ।
कालिका गापाको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मोहन श्रेष्ठका अनुसार निर्वाचनको लागि खटिएका कर्मचारीसंग जिससको गेष्टहाउसमा बस्नुभएका गिरीलाई बिहान प्यासेजमा झुण्डिएको समयमा स्वास फेर्न गाह्रो भएर कराएको सुनिएपछि उद्धार गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय रसुवाका नासु नारायण घिमिरेका अनुसार स्थानीयतहको निर्वाचनको लागी उम्मेदवारी दर्ताको पूर्वतयारी गरी उनी सोमबार राति १० बजे सुतेका थिए ।
बेपत्ता छानबिन आयोगमा कार्यरत रहेका उपन्यायाधिवक्ता गिरी स्थानीय तहको निर्वाचनको लागि कालिका गापाको निर्वाचन अधिकृतको जिम्मेवारी लिएर गत साता रसुवा आएका थिए । रासस