प्रचण्डले पार्टी प्रवेश गराउने ठाउँ फेरे, लाजिम्पाटमा काँग्रेस एमालेका नेता भित्र्याए
प्रकाशित २०७४ वैशाख १८ सोमबार
439
Shares
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराउने ठाउँ फेरेका छन् । केही दिन पहिले सरकारी निवास बालुवाटारमै पार्टी प्रवेश कार्यक्रम गरेका प्रधानमन्त्री दाहालले सोमबार आफ्नै निजी निवास लाजिम्पाटमा गरे । बालुवाटारमा पार्टी प्रवेश कार्यक्रम गरेको भन्दै अालाेचना भएपछि दाहालले ठाउँ फेरेका हुन् ।
दाहालले सिन्धुपाल्चोकका काँग्रेस नेता बुद्धराज बस्नेत र एमालेकी दुर्गा नेपाल, संघीय समाजवादीका रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय दलका राजन योञ्जन सहितका नेता माओवादी केन्द्रमा भित्र्याएका छन् ।
नेताहरुलाई स्वागत गर्दै दाहालले भने, ‘हिजो महाअभियोग दर्ता भएपछि राजनीतिमा एक खालको तरङ्ग आएको छ । तर, महाअभियोगको आफ्नो प्रक्रिया छ, त्यो संसदीय प्रक्रियामा जान्छ । यसले निर्वाचनमा कुनै असर गर्दैन । मंगलबार मनोनयन दर्ता हुन्छ र ३१ गते पहिलो चरणको निर्वाचन हुन्छ, यसमा कुनै भ्रम पाल्न जरुरी छैन । तपाईहरु पनि सबै भ्रममा नपरी भोलिको मनोनयनमा सहभागी हुनुहोस् ।’
निर्वाचनलाई उत्सवका रुपमा मनाउन अपील गर्दै दाहालले भने, ‘मनोनय दर्ता भएपछि भोलिबाट निर्वाचनबारे सबै अन्यौल हट्छ, तपाईहरु सबै निर्वाचनमा होमिनुस्, महाअभियोगले निर्वाचनमा कुनै असर गर्दैन । पहिलो चरणको निर्वाचनसम्म संशोधन विद्येयक अघि नबढे पनि यसले चुनावलाई कुनै असर पर्दैन, मधेशी मोर्चा पनि पहिलो चरणको निर्वाचनमा सहभागी हुन्छ । स्वस्थ ढंगले निर्वाचनमा प्रतिस्पर्धा गरौं ।’
नेपाली काँग्रेसमा २७ वर्षभन्दा लामो राजनीति गरेका नेपाली काँग्रेसका जिल्ला सचिवालय सदस्य बुद्धराज बस्नेतले भने, ‘अहिलेको समस्याको समाधान गर्ने हैसियत माओवादीबाहेक अरु शक्तिसँग छैन, समृद्धि र विकासको योजना पनि माओवादीसँग मात्रै छ, त्यसैले माओवादीमै आएर राजनीतिक र सामाजिक सेवा गर्ने सोंचमा पुगें । अब हामीले माओवादी केन्द्रलाई सिन्धुपाल्चोक जिल्लाका सबै नगर, गाउँपालिका र वडामा विजय बनाएर देखाउँछौं ।’