एमालेको घोषणापत्र : काँग्रेस नालायक, माओवादी सत्ताको आहालमा डुबिरहेको प्रतित
राप्रपा र मधेस केन्द्रीत दललाई पनि डाम्यो
प्रकाशित २०७४ वैशाख १८ सोमबार
602
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र जारी गरेको छ । घोषणापत्र सत्ताधारी काँग्रेसको भन्दा महत्वकांक्षी र भद्दा बनाएको छ । घोषणापत्रमा काँग्रेसलाई पनि घोचपेच गरिएको छ । यद्यपि, काँग्रेसले भनेजस्तो असहिष्णुता र उग्र राष्ट्रवादको पासोमा परेको भन्ने जस्ता शब्द भने प्रयोग गरेको छैन ।
एमालेले काँग्रेससँग मिल्दोजुल्दो गरी नेपाललाई २५ वर्षभित्र समृद्ध राष्ट्रको हाराहारीमा लैजाने भन्दै १० वर्षभित्र मध्यम आय भएको मुलुकको स्तरमा उठाउने र आगामी पाँच वर्षभित्र अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि उठाउने पूर्व घोषित सङ्कल्पलाई पूरा गर्न सही राजनीतिक विचार र सही नेतृत्व आवश्यक हुन्छ, भनि उल्लेख गरेको छ । काँग्रेसले समेत १० वर्षमा मध्यम आयस्तर भएको मूलुकको रुपमा स्थापित गर्ने भनेको थियो ।
एमालेको घोषणापत्रमा भनिएको छ, ‘नेपाली काँग्रेसले निर्वाचनमा पटक–पटक बहुमत पाएर पनि कहिल्यै पूरा अवधि सरकार चलाउन नसकेर राजनीतिक अस्थिरता सिर्जना गरेको, नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र एकतामा आघात पुग्ने क्रियाकलाप गरेको, राज्य शक्ति र स्रोतको दुरुपयोग गरेको, निरपेक्ष निजीकरण र उदारीकरणका नाममा देशलाई परनिर्भर बनाएको, न्यायपालिका, प्रशासन र सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप गरी राज्य संयन्त्रलाई कमजोर बनाएको, जनकल्याणकारी कार्यक्रमहरूको विरोध गरेको र संविधान संशोधनको नाममा देशलाई पुनः अन्योल र अस्थिरतातर्फ धकेल्ने प्रयत्न गरिरहेको तथ्य यतिबेला सबैले स्मरण गर्नुपर्छ ।’
यस्तै, नेपालमाथि अन्यायपूर्ण किसिमले नाकाबन्दी हुँदासमेत विरोध नगरेको तथा नेपालको राष्ट्रिय हित विपरीतका क्रियाकलाप गर्नेहरुलाई प्रश्रय दिने गतिविधिमा नेपाली काँग्रेसको नेतृत्व केही समय यता लागिपरेको कुरालाई मतदाताहरुले अवश्य बिर्सने छैनन् भन्नेमा नेकपा (एमाले) विश्वस्त छ,–समेत घोषणापत्रको अन्तिम तथा ठहर खण्डमा भनिएको छ । एमालेले काँग्रेसलाई घुमाउरो भाषामा नालायक भनेको छ ।
माओवादी अराजक, अवसरवादी
एमालेले माओवादी–केन्द्र नेपालको राजनीतिमा अराजकता, अस्थिरता र अवसरवादको पर्यायको रुपमा नेकपा देखा परेको आरोप लगाएको छ । यसको जन्मदेखि हालसम्मका गतिविधिहरुले नेपाल राष्ट्रलाई कमजोर बनाउने र देशमा विभाजन, विग्रह र द्वन्द्व सिर्जना गर्दै नेपालको प्रगतिमा अवरोध उत्पन्न भएका छन् । पूर्ववर्ती माओवादी पार्टी विभिन्न समूहमा विभाजित भएपछि कायम भएको माओवादी–केन्द्र राष्ट्रिय हित र स्वाभिमानका विषयहरूबाट विमुख भएर सत्ता केन्द्रित राजनीतिको आहालमा डुबिरहेको प्रतित हुन्छ, घोषणापत्रमा भनिएको छ, ‘यस पार्टीको नेतृत्वमा रहेको सरकारले निर्वाचन गर्नु पर्ने संक्रमणकालीन सरकारको दायित्व पूरा गर्नेतर्फ ध्यान केन्द्रित गर्नुको साटो संविधान संशोधनको गलत प्रयाश तथा स्वतन्त्र न्यायपालिकामाथि प्रहार गरेर अन्योल र आशंका फैलाइरहेको छ । यस्तो व्यवहार देश र जनतका लागि हानिकारक भएको तर्फ सचेत जनसमुदायले ध्यान दिनैपर्ने भएको छ ।’
राप्रपा पनि विक्यो
घोषणापत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पनि एमालेले आलोचना गरेको छ । उसले भनेको छ, ‘निरंकुश पञ्चायती व्यवस्था समाप्त भएपछि तत्कालीन व्यवस्थामा सङ्लग्न व्यक्तिहरूबाट सञ्चालित राष्ट्रिय प्रजातन्त्र पार्टीका विचार, नीति र क्रियाकलापले मुलुकलाई कुनै नयाँ दिशा दिन नसक्ने स्पष्टै छ । अहिले यो पार्टी समेत राष्ट्र र जनताको अहित हुने गरी संविधान संशोधनको पक्षपोषण गरिरहेको छ ।’ मधेस केन्द्रीत दलका कारण मुलुक अस्थिर
एमालेले मधेस केन्द्रीत दलका कारण मुलुक अस्थिर भएको शंकालु आरोप लगाएको छ । मधेस केन्द्रीत दलहरुलाई भनेको छ, ‘सार्वभौम संविधानसभाले जारी गरेको नेपालको संविधान जलाउने, विनाशकारी भूकम्पबाट पीडित नेपाली जनता विरुद्ध लगाइएको नाकाबन्दीलाई स्वागत र समर्थन गर्ने, राष्ट्रिय एकता, शान्ति र सामाजिक सद्भावलाई विथोल्ने, संविधान कार्यान्वयन हुन नदिने तराई–मधेस केन्द्रित राजनीतिक दलहरूका क्रियाकलापले नेपाललाई निरन्तर अस्थिर, अन्योलग्रस्त र कमजोर तुल्याइरहेको यथार्थलाई सचेत जनताले नजिकबाट नियालिरहेका छन् ।’